काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीसँग लड्नका लागि वैश्विक एकताका लागि भावुक अपिल गरेको छ।
‘संगठनका प्रमुखले ‘नेतृत्वको अभाव’ को आलोचना गर्दै कोरोना भाइरसको महामारीसँग लड्न वैश्विक एकताका लागि भावुक अपिल गरेका हुन्।
विनाशकारी भाइरस पहिचान भएको छ महिनाभन्दा बढी भइरसक्दा पनि पूरा विश्व यसलाई नियन्त्रण गर्न संघर्षरत छ भने दैनिकरुपमा संक्रमितको संख्या बढ्दो छ।
‘साथीहरु, गल्ती नगर्नुहोला। आज हाम्रो सामु भाइरसमात्र सबैभन्दा ठूलो चुनौती होइन,’ टेड्रोस अधानोम घेब्रेसियसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो लागि चुनौती भनेको राष्ट्रिय र वैश्विक स्तरमा नेतृत्व र ऐक्यबद्धताको कमी हो।’
डब्लूएचओ प्रमुखको यो अभिव्यक्तिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित रहेको धेरैको बुझाइ छ। आफ्नै देशमा विश्वकै खराब स्थितिमा रहेको कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्न असफल रहेका ट्रम्पले डब्लूएचओविरुद्ध खुल्ला युद्ध सुरु गरेका छन्।
‘यो त्रासदीले हामीलाई हाम्रा धेरै साथीहरुलाई गुमाउनु परिरहेको छ। विभाजित विश्वले यो महामारीलाई जित्न सक्दैन,’ भावुक बनेर बोली समेत लर्बरिएका टेड्रोसले भने।
चीन परस्त भएको भन्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनको आलोचना गर्ने गरेका छन् । तर, जर्मनी, फ्रान्स र बेलायत जस्ता शक्ति राष्ट्रहरु संकटको घडीमा डब्लूएचओको पक्षमा देखिएका छन् ।
बिहीबार जर्मन चान्सलर एन्जेला मार्केलले महामारीले विश्वभर देखिएको ‘तथ्य नस्वीकार्ने पपुलिजम’ को खतरालाई उजागर गरेको बताएकी थिइन् । ‘हामीले झुट र दुष्प्रचार देख्यौँ, महामारीसँग लड्ने यो तरिका होइन ,’ ब्रसेल्समा युरोपियन संसदलाई उनले भनेकी थिइन्।