एजनेसी। फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ। आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ।
गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रहरीले सुरुमा युवकले प्रहरीलाई चोट पुर्याउने उद्देश्यले प्रहरीतर्फ कार चलाएको बताएको थियो । तर उक्त दुर्घटनाको फुटेजमा एक प्रहरी अधिकारीले कारको झ्यालबाट युवकलाई पेस्तोल तानेर नजिकबाट गोली हानेको देखिएको बीबीसी समाचारमा उल्लेख छ ।
फ्रान्सेली राष्ट्रपतिले गोलीबारी ‘अक्षम्य’ भएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘युवाको मृत्युलाई कुनै पनि कुराले न्याय दिन सक्दैन ।’
यसै क्रममा समाचार एजेन्सी रोयटर्सले सन् २०१७ यता फ्रान्सेली प्रहरीको गोलीबाट ज्यान गुमाउने अधिकांश अश्वेत वा अरब मूलका रहेको पत्ता लगाएको छ । गत वर्ष ट्राफिक नियम नमान्दा १३ जनाको ज्यान गएको थियो ।
रोयटर्सले मृतकका छिमेकीहरूलाई उद्धृत गर्दै नाहेल पनि फ्रान्सेली-अल्जेरियन मूलको परिवारबाट भएको बताएको छ।