June 30, 2023
काठमाडौँ । सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे ३३ अर्बको धान तथा चामल आयात भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रूपैयाँको धान तथा चामल आयात भएको हो।
किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा धान उत्पादन वृद्धि हुन सकेको छैन। धानको उत्पादन र उत्पादकत्व घट्दा र उपभोग बढ्दा नेपालले चामलमा विदेशको भर पर्नुपरेको हो। धानको उत्पादन बढाउन नसक्दा चामल आयात भइरहेको पूर्वकृषि सचिव योगेन्द्रबहादुर कार्कीले बताए।
‘धान उत्पादन बढाउन किसानलाई आवश्यक बिउ, सिँचाइदेखि रासायनिक मलको उपलब्धता सहज हुन सकेको छैन,’ सचिव कार्कीले भने, ‘आयात प्रतिस्थापन गर्न धानको उत्पादन र उत्पादकत्व बढाउनुपर्छ।’
सरकारले शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औं धान दिवस मनाउँदैछ। हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आएपछि मुलुक चामलमा परनिर्भर छ।
नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो–मसिनो चामल प्रयोग गर्ने गरेका छन्। यो वर्ष अमेरिकाबाट करिब १९ करोड रूपैयाँको मसिना चामल आयात भएको छ। त्यसैगरी भियतनाम, थाइल्यान्ड, भुटानबाट पनि नेपालमा चामल आयात हुन्छ। कुनै बेला चामल निर्यात गर्ने नेपाल अहिले परनिर्भरताको अवस्थामा पुगे पनि उत्पादन बढाउन ठोस काम हुन सकेको छैन। सरकार र राजनीतिक नेतृत्वले कृषि आत्मनिर्भरताको नारा दिए पनि व्यवहारमा त्यस्तो देखिएको छैन।
कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण नहुँदा उत्पादन बढ्न नसकेको हो। विदेशतिर प्रतिहेक्टर ६ मेट्रिक टन धान फले पनि नेपालमा प्रतिहेक्टर चार मेट्रिक टन पनि उत्पादन हुँदैन। अहिले नेपालमा प्रतिहेक्टर ३.८ मेट्रिक टन धान मात्र फल्ने गरेको छ। अहिले मुलुकभर करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। चामल आयात प्रतिस्थापन गर्न ६४ लाख मेट्रिक टन धान फलाउनुपर्ने पूर्वसचिव कार्कीले बताए।
उत्पादकत्व नबढ्नुका कारण
संसारभरिका धान उत्पादन हुने अधिकांश देशहरुको धानको उत्पादकत्व करीब ६० वर्षअघि उस्तै–उस्तै थियो। २०१८ सालमा नेपालमा प्रतिहेक्टर १.९ टन धान फल्दा उत्तरी छिमेकी चीनमा पनि २ टन प्रतिहेक्टर धान फल्थ्यो। दक्षिणी छिमेकी भारतमा त अझ प्रतिहेक्टरमा १.५ टन मात्रै धान फल्थ्यो। संसारभरि धेरै धान फलाउने इन्डोनेसियादेखि बाङ्लादेश, भियतनामदेखि थाइल्याण्डसम्मको धानको उत्पादकत्व उस्तै थियो। अझ, चीनलाई छोडेर बाँकी देशका तुलनामा त नेपालकै धानको उत्पादकत्व बढी थियो।
उन्मोचन विधि मार्फत उन्नत जातको धानका बीउ उत्पादन, रासायनिक मल तथा प्रविधिको प्रयोगले पछिल्लो पाँच दशकमा संसारभरि धानको उत्पादकत्वमा ठूलो सुधार आएको छ। अझ, सन् १९७० को दशकमा चिनियाँ वैज्ञानिक युआन लोङफिङले धानको वर्णसंकर बीउ आविष्कार गरेपछि त धान उत्पादनमा क्रान्ति नै शुरु भयो। फरक–फरक गुण, क्षमता र स्वभाव भएका धानका जातबीचको ‘क्रस’ मार्फत निकालिने वर्णसंकर बीउले उत्पादन कैयौं गुणासम्म बढाउँछ। त्यसैकारण, भोकमरीबाटै लाखौं मृत्यु हुने चीनमा यो आविष्कारले रामवाणको रुपमा काम गर्यो।
चीनसहित दक्षिण पूर्वी एशियाका अन्य देशहरुले पनि वर्णसंकर बीउको प्रयोग मार्फत धानको उत्पादन क्रमशः बढाउँदै लगे। चीनले अहिले देशभरिमा प्रतिहेक्टर औसतमा ७ मेट्रिक टन धान फलाउँछ। यो नेपालको भन्दा झण्डै दोब्बर हो। गत महीना मात्रै वर्णसंकर धानका पिता भनिने उनै लोङफिङको नेतृत्वमा तेस्रो पुस्ताको वर्णसंकर धानको बीउबाट प्रति हेक्टर खेतमा २२ टनभन्दा धेरै धान फलाएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले उल्लेख गरेको छ।
भारतले धानको उत्पादकत्वमा ठूलो फड्को नमारे पनि बाङ्लादेशले भने वर्णसंकर धानको बीउमार्फत उत्पादनमा छलाङ मारेको छ। बाङ्लादेशको धानको उत्पादकत्व प्रतिहेक्टर करीब ५ मेट्रिक टन पुगिसकेको छ। नेपालमा बाङ्लादेशकै जति अर्थात् प्रतिहेक्टर ५ मेट्रिक टन धान फलाउन सक्ने हो भने यसले देशको जनसंख्यालाई पुग्ने जानकारहरु बताउँछन्।
र्णसंकरमा ठूलो अग्रसरता नलिए पनि रैथाने धानको मात्रै खेती हुँदै आएको नेपालमा ६० वर्षजति अगाडि उन्नत जातको बीउबाट खेती हुन थालेको हो। २०२३ सालमा सरकारी कृषि वैज्ञानिकहरुले सीएच–४५ नामको ३.५ टन प्रतिहेक्टर उत्पादन क्षमता भएको उन्नत चैते धानको बीउ सिफारिश गरेका थिए। त्यसयता, विन्देश्वरी, चैते २, ताइचुङ्ग १७६, सावित्री, खुमल ३, खुमल ४, खुमल २, राधा ७, चन्दननाथ ३, लल्का बासमती लगायतका उन्मोचन विधिबाट विकास गरी ६४ जातका उन्नत जातका धानको बीउ किसानसमक्ष पुर्याइसकिएको छ। अहिले देशको तीन चौथाइ क्षेत्रफलमा उन्नत जातका बीउबाट धान उत्पादन हुन्छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बाली तथा बागबानी निर्देशक रामबहादुर केसी धानको उत्पादकत्वमा सिंचाइ, मलखाद, बीउबिजन र कृषि शिक्षाको अहम् भूमिका हुने बताउँछन्। उनका अनुसार, धान उत्पादनमा गुणस्तरीय बीउको ठूलो महत्व हुन्छ। कृषि वैज्ञानिकहरु किसानले बीउको गुणस्तरमा धेरै ध्यान नदिने कारण उत्पादन कम हुने गरेको बताउँछन्।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक भानुभक्त पोखरेल भन्छन्, “धानको बीउ मात्रै गुणस्तरीय बनाउन सके उन्नत जातबाट मात्रै करीब २० प्रतिशतले धानको उत्पादन बढ्छ।” हरेक ३/४ वर्षमा धानको बीउ फेर्नुपर्ने भए पनि अहिले त्यो न्यून भएको पोखरेल बताउँछन्। अहिले धानको बीउको प्रतिस्थापन दर करीब २४ प्रतिशत मात्रै छ।
धान बालीका लागि पानीको उपलब्धता अनिवार्य शर्त हो। व्यवस्थित सिंचाइ प्रणाली अभावमा आकाशे पानीमा भर पर्नुपर्ने कारणले नेपालको धान उत्पादनमा असर गर्दै आएको छ। देशको खेती हुने २६ लाख ४१ हजार हेक्टरमध्ये करीब १४ लाख ८० हजार हेक्टरमा मात्रै सिंचाइ सुविधा पुगेको छ। त्यसमध्ये पनि करीब साढे ८ लाख हेक्टरमा मात्रै वर्षैभरि सिंचाइ सुिवधा पुगेको छ। हरेक वर्ष धान रोपाइँका बेला किसान आकाशे पानीमा निर्भर हुँदै आएका छन्। त्यसैकारण, मनसुनी वर्षा राम्रो भएको वर्ष मात्र धान उत्पादन बढ्ने गरेको छ।
धान उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति अर्को महत्वपूर्ण पक्ष हो। तर, हरेक वर्ष किसानले धान खेती गर्ने बेला मलखादको अभाव भोग्ने गरेका छन्। नेपालमा हरेक वर्ष आवश्यकताको आधाजति मात्रै रासायनिक मल आपूर्ति हुने गरेको सरकारी अधिकारीहरु नै बताउँछन्। विरुवालाई सप्रिन तथा उत्पादन हुन १६ तत्व चाहिन्छ, जसमध्ये नाइट्रोजन, फोस्फोरस र पोटासको मुख्य भूमिका हुन्छ। युुरिया मलले नाइट्रोजन आपूर्ति गर्छ भने डीएपीले नाइट्रोजन तथा फोस्फोरस। धानबालीलाई समयमा मलखाद दिन नसके उत्पादन एक तिहाइ ह्रास हुने जानकारहरु बताउँछन्। एक किलो रासायनिक मल हाल्दा १० किलो उत्पादन बढ्ने अनुमान गरिन्छ। यस बाहेक, खेती गर्ने तौरतरिकाका सुधार, प्रविधिको प्रयोग, रोग किरा नियन्त्रणका लागि विषादी प्रयोग आदिले धानको उत्पादकत्व बढाउँछन्।
प्रकाशित मिति:June 30, 2023
November 23, 2024