ललिता निवासको जग्गा संरक्षण गर्न महानगरपालिकाको टोली पुग्यो बालुवाटार

  Sampatti News Online

July 3, 2023

काठमाडौं । ललिता निवासको जग्गामा तारबार गर्ने भन्दै काठमाडौ महानगरपालिकाको टोली पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले लिखत कीर्तेमा अनुसन्धान गरिरहँदा महानगरपालिकाको नगर प्रहरी जग्गा संरक्षणका लागि पुगेको हो। काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने तयारी गरेको छ।

आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार गएको हो। उक्त जग्गासम्बन्धी विवाद विशेष अदालतमा पनि विचाराधीन छ।

विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सीआईबीले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो।

सीआईबीले ललिता निवास परिसरको १ सय ४३ रोपनी जग्गा संरक्षण गर्न कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली आइतबार वालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेको थियो । जग्गामा पुगेलगत्तै कामपाले नापजाँच शुरू गरेको थियो ।

नगरप्रहरी बल प्रमुख पाण्डेले सो जग्गामा रहेका ८ वटा ठुलो टहरा तत्काल खाली गर्न निर्देशन दिनुभएको थियो । टोलीले भाटभटेनीको गोदाम घर र एनआरएनएको मुख्यालय रहेको भवनको अवस्था पनि अवलोकन गरेको थियो । निर्माण गरिएको गोदाम घर हटाउन आदेश दिएका छौं ।’ उहाँले निर्माण सामाग्रीसहित विभिन्न वस्तु भण्डारण गरिएको ठुलाठुला टहरा हटाउन करिब एक साता समय दिने जानकारी दिनुभयो । कामपाको टोलीले हिजैबाट सो जग्गाको नापजाँच शुरू गरेको छ ।

एनआरएन र भाटभटेनीको गोदाम खाली गर्ने विषयमा कामपाले सरकारसँग समन्वय गर्ने भएको छ । महानगरले आज सार्वजनिक सूचना जारी गर्नेछ । सोमबार सार्बजनिक सूचना जारी भएपछि सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी कामपाको छ । पक्राउ परेको भाटभटेनीका सञ्चालक गुरुङसहितको टोलीले एनआरएनएलाई बिक्री गरेको जग्गामा बनेको घरको लालपुर्जा र नक्सा पास भइसकेको छ ।

नापी कार्यालयले उक्त जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढाइसकेको कारण तत्काल भाटभटेनीको गोदाम र एनआरएनएको भवन खाली गर्ने अवस्था छैन । यद्यपि, कसरी खाली गर्न सकिन्छ भन्ने विषयमा कामपाले आन्तरिक तयारी शुरू गरेको छ । कामपा प्रवक्ता नविन मानन्धरले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व कामपाको भएकोले सोहीअनुसार कारबाही शुरू गरेको जानकारी दिनुभयो । महानगरले आज सोमबार सूचना जारी गरी कति दिनमा टहरा खाली गर्ने भन्ने विषयमा जानकारी गराउने पनि उहाँले बताउनुभयो ।

कामपाले सो जग्गामा पहिलो चरणमा घेराबार गर्ने, भौतिक संरचना भए निर्माण रोक्न र भएको भवन खाली गर्न शुरू गरेको हो । जग्गा अवलोकन गर्न मेयर सचिवालय, नगर प्रहरी प्रमुख पाण्डेसहितको टोली, कामपा नक्सा विभागका इन्जिनियर, वडा नं ४ का जनप्रतिनिधि र प्रहरी टोली पुगेको थियो ।

महानगरले आज सोमबारबाट जग्गामा तारबार लगाउन शुरू गर्नेछ । त्यसपछि अदालतको निर्णयअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा थप निर्णय हुने कामपाले जनाएको छ । सीआईबीले अनुसन्धान शुरू गरेपछि लालपुर्जा बदर गर्ने प्रक्रिया अघि बढीसकेको छ । यसअघि सरकारी जग्गा किर्ते गरेको आरोपमा ब्युरोले गत मंगलबार ७ जनालाई पक्राउ गरेको थियो । तर, अदालतको ‘स्टे अर्डर’ पाएको कारण ३ जनालाई भने कागज गराएर छाडिएको थियो ।

सीआईबीको अनुसन्धानमा पक्राउ परेका गिरोहले पहिलो चरणमा एक सय १२ रोपनी जग्गा किर्ते गरी आफ्नो नाममा सारेका थिए । पक्राउ परेका गुरुङ र उहाँको नातेदारको नाममा २९ रोपनी जग्गा देखिएको थियो । ललिता निवास प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध मुद्दा चलाइसकेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

गुरुङविरुद्ध अख्तियारले करिब ३९ करोड २७ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको छ । यसअघि उक्त मुद्दामा गुरूङ ३ करोड रूपियाँ धरौटी बुझाएर रिहा हुनुभएको थियो । हिरासतमा रहेका गुरुङसहित ३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

पक्राउ परेका गौतमको नाममा ३ रोपनी र शाहकी श्रीमती उर्मिलाको नाममा भने ५ रोपनी २ पैसा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो काण्डको अनुसन्धानमा कुनै दबाब नदिने बताएपछि सीआईबीको टोली थप सक्रिय भएको छ ।

काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा भवन निर्माणका लागि स्वीकृति नदिने भएको छ । महानगरपालिकाको ४ नम्बर वडामा पर्ने बालुवाटारस्थित ललिता निवास र त्यसले खर्चेको जग्गामा भवन निर्माण गर्न महानगरपालिकाले स्वीकृति नदिने भएको हो ।

अब उक्त जग्गामा बनेका संरचनाको निर्माण सम्पन्नाको प्रमाणपत्र समेत जारी नहुने महानगरपालिकाले जनाएको छ । उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्न समेत सरोकारवालालाई जानकारी गराएको छ ।

प्रकाशित मिति:July 3, 2023