माओवादी सरकारमा सशक्त भएका कारण उर्जामन्त्री बस्नेतलाई दबाब

  Sampatti News

July 19, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । आज बिहान मन्त्रिपरिषद् बैठक राखेका उनी दिउँसो गोरखामा आयोजना हुने सार्वजनिक कार्यक्रममा सहभागी हुनेछन् ।

बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको पाँच दिने इटाली भ्रमण स्वीकृत गरेको छ । युनाइडेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मुभमेन्टको कार्यक्रममा भाग लिन उनी साउन ७ गते इटाली जाँदैछन् । त्यसलगत्तै उनी चीन भ्रमणको तयारीम जुट्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले इटाली जानुअघि नै सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने भएका छन् । जनमत पार्टीले असार २६ गते नै आफ्नो पार्टीबाट अनिता यादवलाई सरकारमा सहभागी गराउने निर्णय गरेको थियो । तर असार २७ गते प्रचण्डपत्नी सीता दाहालको निधन भएकाले मंगलबारसम्म प्रधानमन्त्री प्रचण्ड राजनीतिक गतिविधिमा सक्रिय देखिएका थिए । जसकारण जनमत पार्टीको सरकारमा सहभागिता लम्बिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आफ्नै पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने मनस्थितिमा छन् । यसअघि सामान्य प्रशासमन्त्री अमनलाल मोदी र पर्यटनमन्त्री सुदन किराँतीमध्ये एकजनालाई फिर्ता बोलाउने तयारी भइरहेको चर्चा थियो । तर, अहिले माओवादीमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई सरकार छाड्न पार्टीभित्रबाटै दबाब परेको बताइन्छ ।

माओवादीका हालका अन्य मन्त्रीहरू क्रियाशीलता र समावेशिता दुबै पाटोबाट सरकारमा सशक्त देखिएकाले ऊर्जामन्त्री बस्नेतलाई सरकार छाड्न दबाब परेको स्रोत बताउँछ । माओवादीमा विशेष अवसर पाएका, तर देश र जनताका लागि कुनै किसिमको सोच र निर्णय क्षमता नभएका बस्नेत पटकपटक मन्त्री भइसकेका छन् ।

यसअघिका सरकारहरूमा उनी गृहमन्त्री र वनमन्त्री थिए । त्यसैले मोदी र किराँती होइन, बस्नेत चाहिँ डेन्जर जोनमा परेको चर्चा छ ।

प्रकाशित मिति:July 19, 2023