आयल निगमका कार्यकारी निर्देशक थानी ‘बेस्ट म्यानेजमेन्ट अवार्ड’ बाट सम्मानित

  Sampatti News

July 19, 2023

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानी ‘बेस्ट म्यानेजमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्। नेपाल इञ्जिनियरिङ एसोसिएसनको ६१औं स्थापना दिवसको अवसरमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थानीलाई अवार्डबाट सम्मानित गरेका हुन् । आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएको १५ महिनामा पेट्रोलियम पदार्थको आपूर्ति र व्यवस्थापनमा उल्लेखनीय काम गरेको भन्दै नेपाल इञ्जिनियर्स एसोसिएसनले थानीलाई अवार्ड दिएको हो। रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा नेपालमा सहज आपूर्ति तथा वितरण गर्नुका साथै इन्डियन आयल कर्पोरेसन -आइओसीलाई ३१ अर्ब बक्यौता चुक्ता गरी १८ अर्ब नाफा गरी इञ्जिनियरिङ क्षमता प्रमाणित गरेकोले अवार्ड दिइएको हो। थानी नेतृत्वको निगमले अहिले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे बढ्ने, घटेर आए घट्ने गरी निगमले १५–१५ दिनमा स्वचालित मूूल्य प्रणाली लागू गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशभरका इन्जिनियरहरुलाई हचुवाको भरमा बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने भन्दै अससारे विकास प्रवृत्ति त्याग्नुपर्ने बताए । ‘विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ । बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ ।

विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु,’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति:July 19, 2023