प्रस्तावित ६ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु

  Sampatti News

July 19, 2023

काठमाडौं । सरकारले सिफारिस गरेका विभिन्न मुलुक तथा नियोगका ६ जना राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्धारा सिफारिस न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टाराईको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो।

सरकारले सिफारिस गरेका राजदूत तथा विभिन्न नियोगहरूका प्रतिनिधिहरूको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रस्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए। उनले समितिको निर्णयअनुसार बुधबारबाटै लागू हुने गरी समितिले सो उजुरी आह्वान गरिएको बताए।

‘नेपाल सरकारबाट सिफारिस भएका विभिन्न मुलुकका राजदूतहरूको सुनुवाइ प्रक्रिया आजबाट प्रारम्भ भएको हो। खासगरी विभिन्न नियोगका स्थायी प्रतिनिधि र राजदूत गरेर ६ जनाको सिफारिस छ, उनले भने। मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति:July 19, 2023