‘कोरोना अझै भयानक हुनसक्छ’

  Sampatti News

July 14, 2020

काठमाडौँ । सरकारहरूले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोना भाइरस महामारी खराबमाथि खराब हुँदै जाने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।

डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको बताउँदै प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा संक्रमितहरू बढिरहेको उनको भनाइ छ।

सोमवार जेनेभामा बोल्दै डा। गेहब्रेयससले नेताहरूको मिश्रित सन्देशले उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए।

‘यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन,’ उनले भने । उनले सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए। निकट भविष्यमा पुरानो सामान्य अवस्था फर्कने देखिँदैन।

उनले चेतावनी दिँदै भने, ‘यदि आधारभूत कुरालाई पछ्याइएन भने यो महामारी जाने एउटै बाटो छ। त्यो भनेको खराब, खराब र खराब हुनु हो।’

उत्तर र दक्षिण अमेरिकी देशहरू यतिखेर महामारीको केन्द्रविन्दु बनेका छन्। डब्ल्यूएचओको आपत्कालीन सेवा सम्बन्धी निर्देशक डा माइक रायनका अनुसार अमेरिकी देशहरूमा खुकुलो पारिएको लकडाउनका उपायले केही ठाउँमा व्यापक संक्रमण फैलाएको थियो।ल्याटिन अमेरिकामा अहिलेसम्म १ लाख ४५ हजारभन्दा बढी कोरोनाभाइरससँग जोडिएका मृत्यु पुष्टि भएका छन्।

प्रकाशित मिति:July 14, 2020