सुन प्रकरणको छानबिनका लागि छ सदस्यीय समिति गठन

  Sampatti News

July 20, 2023

काठमाडौँ । भन्सार विभागले झण्डै एक क्वीन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरणको छानबिनका लागि समिति गठन गरेको छ ।

भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।

भन्सार जाँच पार गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।

‘कहाँ भन्सारका कर्मचारीको कमजोरी रह्यो भन्ने विषयमा जाँच गर्न समिति गठन भएको हो’, सूचना अधिकारी खड्काले भने । समितिलाई पाँच दिनभित्र जाँच गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

राजश्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो ।

प्रकाशित मिति:July 20, 2023