नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुल्यो

  Sampatti News

July 21, 2023

काठमाडौँ । बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि पठाउन आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।

नेपाल सरकार र बेलायत सरकारबीच दुईपक्षिय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो । बेलायत जान इच्छुक नेपाली नर्सले आज (शुक्रबार) देखी आवेदन दिन सक्नेछन् । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोर्टल समेत बनाएको छ। बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि अक्टोबर १९ सम्ममा अर्थात् तीन महिना भित्रमा बेवसाइटमार्फत् अनलाइन आवेदन दिन पाउनेछन् । न्यूनतम पिसिएल नर्सिङ अध्ययन पुरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका सबैले आवेदन दिन पाउने छन् । बेलायत जान आवेदन दिने नर्सले आईईएलटीएसमा भने न्यूनतम ७ अंक ल्याएको र २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ । कुनै आपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक लगाइएको व्यक्ति नहुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनु पर्नेछ । रोजगारीका लागि छनौट भएर बेलायत पुगेका नर्सहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ । गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागिएकाले यसरी जाने नर्सहरूले बेलायत सरकारले खटाएको स्थानमा काम गर्नुपर्नेछ । यसरी रोजगारीका लागि जाने नर्सहरूले ५ वर्ष मात्र काम गर्न पाउने छन् । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौ महिनामा दुई देशबीच सम्झौता भएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम मन्त्रालयका सचिव र नेपालका लागि बेलायती राजदूतबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सम्झौता भएको लामो समय प्रोटोकलमा अड्किएको थियो ।

दुई देशबीच सम्झौता भएको झण्डै १ वर्षपछि नर्सहरू रोजगारीका लागि बेलायत जान पाउने भएका छन्। बेलायत जाने नर्सहरूले सुरुमा वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउने छन् भने बेलायतमा रजिष्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन् ।

प्रकाशित मिति:July 21, 2023