एसिया कपका लागि नेपाली क्रिकेट टिमको विशेष तयारी गर्ने

  Sampatti News

July 21, 2023


काठमाडौं । आगामी अगष्ट र सेप्टेम्बरमा एकदिवसीय एसिया कप २०२३ पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । यस पटकको एसिया कपमा नेपालले पनि सहभागिता जनाउँदै छ । गत वैशाखमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले प्रतियोगिताको तयारीका लागि श्रीलंकामा विशेष प्रशिक्षण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक सूचना जारी गर्दै एसिया कपका लागि १५ दिनसम्म खेलाडीलाई श्रीलंकामा विशेष प्रशिक्षण गराउने जानकारी दिएको हो । क्यानले नेपाली टोलीको उत्कृष्ट फर्म कायम गर्नका लागि भन्दै श्रीलंकामा १५ दिनसम्म ‘स्पेसल हाई–पर्फमेन्स क्याम्प’ सञ्चालन गर्ने उल्लेख गरेको छ । नेपाली टोलीलाई कडा प्रशिक्षण दिइने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा विशेष प्रशिक्षण दिइने पनि क्यानले उल्लेख गरेको छ । उक्त १५ दिने विशेष प्रशिक्षणमा नेपाली टोलीले श्रीलंकामा उसको डेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने छ । नेपालमा बर्खाको समय रहेकाले क्याम्प राखेर प्रशिक्षण दिन असहज हुने भएकाले श्रीलंकामा विशेष तयारी गराउन लागिएको क्यानले जनाएको छ । अहिले श्रीलंकामै रहेको नेपाली टोली १५ दिने प्रशिक्षण सकाएपछि मात्रै नेपाल फर्किने छ । क्यानले नेपाली खेलाडीलाई विशेष प्रशिक्षण दिलाउन सहयोग गरेकोमा श्रीलंका क्रिकेट बोर्डलाई धन्यवाद ज्ञापन पनि गरेको छ । एसिया कपमा नेपालले आयोजक पाकिस्तानसँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल अगष्ट ३० अर्थात भदौ १३ गते मुल्तानमा हुनेछ । नेपाल पाकिस्तानसँगको खेल सकिएपछि दोस्रो खेलका लागि श्रीलंका जाने छ । श्रीलंकामा नेपालले प्रतियोगितामा आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल सेप्टेम्बर ४ अर्थात भदौ १८ गते हुनेछ । एसिया कपमा जम्मा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा भारत र पाकिस्तानसँग रहेको छ । समूह ु‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरका खेल सेप्टेम्बर ६ देखि १५ सम्म हुनेछन् । सुपर फोरको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति:July 21, 2023