सुन तस्करीको छानबिनमा दुई निकायबीच तछाडमछाड

  Sampatti News

July 24, 2023

हङकङबाट नेपाल हुँदै भारत तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलोग्राम सुनको छानबिन प्रक्रियालाई लिएर दुई निकायबीच जुहारी शुरू भएको छ ।

विमानस्थलबाट बाहिरिएको सुन पक्राउ गरेको राजस्व अनुसन्धान विभागले छानबिन पनि आफूले नै गर्ने भन्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ । राजस्वले अनुसन्धानमा अन्य निकायको आवश्यकता नरहेको टिप्पणी गर्दै आफैंले अनुसन्धान गरेर टुंगोमा पु¥याउने बताएको छ ।

गृह मन्त्रालयले आफूले यसको बिस्तृत छानबिन गर्न पाउनुपर्ने माग गरे पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा रहेको र हरेक कुरा प्रधानमन्त्रीलाई नै जानकारी गराउने भएकाले अन्य निकायको सहयोग आवश्यक नपर्ने बताउँदै आएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो सुन तस्करी काण्डमा संगठित अन्तर्राष्ट्रिय गिरोहसमेत जोडिएकाले यसको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा उपत्यका अपराध अनुसन्धान महाशाखाले गर्नुपर्ने बताएको र यस विषयमा मन्त्रालयमा गम्भीर रूपमा छलफल भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ती अधिकारीले भने– ‘उक्त सुन तस्करी काण्डमा चिनियाँ, भारतीय र नेपाली नागरिकको मिलोमतो रहेकोले राजस्व अनुसन्धान विभागले मात्रै अनुसन्धान गर्दा शंकाको घेरामा रहेका व्यक्तिहरू भाग्न सक्ने चिन्ता मन्त्रीज्यूले व्यक्त गर्नु भएको छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति:July 24, 2023