सुन काण्डको जरैदेखि अनुसन्धान नभए मन्त्रीको राजीनामा माग्छौँ ः प्रदिप पौडेल

  Sampatti News

July 30, 2023

बुटवल । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले सुन काण्डको जरैदेखि अनुसन्धान नभए काँग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्ने बताएका छन् ।प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक–एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए । ‘सरकारको उपस्थिति भन्सार र एयरपोर्टमै राम्रोसित हुन नसके कहाँ हुन्छ ? कस–कसको संलग्नतामा सुन आयो । तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस्,’ उनले भने, नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौँ । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’

नेता पौडेलले काँग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।

नेता पौडेलले सङ्घीयता बोझिलो र खर्चिलो हुँदै गएको बताउँदै अब सङ्घ र प्रदेशमा मन्त्रिपरिषद् र सांसद संख्या घटाउनुपर्ने बताए । संघीयताविरोधीहरु मैलाउन लागेको र आन्तरिक आयले प्रशासनिक खर्चसमेत चलाउन नसक्ने भएकाले विकल्प खोज्नुपरेको उनको भनाइ थियो । राजनीतिक नेतृत्व मन्त्रिपरिषद् र सांसद संख्या घटाउन राजीभए अनावश्यक बोझिलो कर्मचारीतन्त्र घटाउनसमेत सकिने उनले बताए । ठूलो संख्या भए पनि उपलब्धिमूलक काम नभएको र नागरिकको मन जित्न नसकेकाले काँग्रेसमार्फत सङ्घीयतालाई छरितो बनाउन राजनीतिक बहस चलाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति:July 30, 2023