बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ ःनेता सिंह

Nepal Cover
१४ श्रावण २०८०, आईतवार
image

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताएका छन् । नेपाली काँग्रेस चितवनले आइतबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे। उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा काँग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए । पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उनको भनाइ थियो। उनले भने, ‘पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो। त्यहीअनुसार अहिले कारबाही नगरिएको हो। काँग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उनले स्पष्ट पारे। उनले भने, ‘निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा काँग्रेस रहेको छ। आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नुहुँदैन भन्ने पक्षमा काँग्रेस छैन।’