राखेप सदस्य सचिवको लागि पहिलो आवेदन, रोशन महर्जनले दिए

  Sampatti News

July 16, 2020

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदका लागि रोशन महर्जनले निवेदन दर्ता गराएका छन् ।

महर्जनले शारीरिक सुगठन खेलको तर्फबाट राखेपको सदस्य सचिवमा उम्मेदवारी दिने पहिलो व्यक्ति समेत हुन्। उनले १ नं। मा निवेदन दर्ता गरेका हुन् ।

खेलकुद विकास ऐन २०७७ लागू भई सरकारले सदस्य सचिवका लागि निवेदन आह्वान गरेपछि महर्जनले निवेदन दर्ता गरेका हुन् ।

महर्जन नेपालकै सबैभन्दा पुरानो खेल संस्था नेपाल ब्यायाम मन्दिर’मा विगत १० वर्षदेखि कार्यसमितिमा रही खेल, खेलाडी र खेलकुद विकासमा सक्रिय रूपमा लागिरहेका व्यक्ति हुन् ।

सानो छँदा सितेरियो करातेमा रुचिकर भएपनि पछि स्वस्थ र बलिष्ठ शरीर बनाउने सोचले शारीरिक सुगठनतर्फ आकर्षित हुँदै २०४८ सालदेखि फलाम उचाल्न थालेको उनी २०५० सालमा पाटनको पहिलो जिमखाना नाइन प्वाइन्ट हेल्थ क्लबबाट औपचारिक रुपमा शारीरिक सुगठनको खेलाडी हुँदै विभिन्न प्रतियोगिता समेत जितेका छन् ।

२०७० सालमा शारीरिक सुगठनको राष्ट्रिय निर्णायकको लाइसेन्स लिएका महर्जनले इन्टरनेशनल फेडेरेसन अफ बडीबिल्डिङ अन्तर्गतको नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेशद्वारा आयोजना गरिएको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

महर्जनले आफू खेलक्षेत्रमा खेलाडी हुँदै आएको र त्यसभित्रका स—साना कुराहरूलाई नजिकबाट बुझेको बताउँदै आफू सदस्य सचिवमा नियुक्त भएमा खेलकुदको विकासका ओहरात्र खटिने बताएका छन् ।

‘यदि, राजनीतिक हस्तक्षेप बिनै स्वतन्त्र रुपमा सदस्य सचिवको छनोट हुने हो भने आफू स्वतः सदस्य सचिवमा छनोट हुन्छु’, महर्जनले भने ।

ललितपुर महानगरपालिका वडा न। १७ निवासी महर्जन २०५० सालदेखि खेलकुद क्षेत्रमा आबद्ध रहेका छन् । उनी सूचना प्रविधि र शिक्षा क्षेत्रसँग पनि उत्तिकै सक्रिय रहेका छन् । हाल उनी दक्षिण एशियाली शारीरिक सुगठन संघको निर्णायक कमिटीका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति:July 16, 2020