सरकारद्वारा आन्तरिक ऋण उठाउन सुरु, १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने तयारी

  Sampatti News

August 2, 2023

काठमाडौँ । सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा तय गरेको वार्षिक लक्ष्य अनुसार यही साउनदेखि नै आन्तरिक ऋण उठाउन थालेको हो ।

सोही क्रममा नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्रीका लागि सूचना आह्वान गरेको छ । ऋणपत्रका लागि बिहीबार (साउन १८ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ‘विकास ऋणपत्र ०८६ ‘छ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

आउँदो पुससम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तरिक ऋण सङ्कलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ । जसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब रुपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

प्रकाशित मिति:August 2, 2023