August 2, 2023
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
हस्ताक्षर प्रश्चात, डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्ने कार्यक्रममा बैंकको सहभागिता रहनेछ ।
त्यस्तै, परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम(पूर्व जिल्लाहरूको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ्गस भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहहरूमा बेलायत स्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रममा पनि बैंकको सहभागिता हुनेछ ।
बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले परिलक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास छ । यस परियोजनामा आबद्ध घरधुरीहरू तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन् ।
परियोजनामा आबद्ध ५,५०० घरधुरी मध्ये ८० प्रतिशत सहभागीहरू महिला हुनेछन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन् । यसै भित्रबाट ३ प्रतिशत समुदाय अपाङ्ग घरपरिवार पनि हुने हुँदा परियोजनाले परिलक्ष्यित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ ।
साथै, यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियनहरू परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैकिङ्ग, डिजिटल बैंकिङ्ग, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ ।
बैंकले समय सापेक्ष रूपमा विभिन्न सङ्घ(संस्थाहरुसँग यस किसिमका सम्झौताहरू गरी आर्थिक गतिविधिहरूमा आफ्नो अग्रसरता जनाउँदै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित मिति:August 2, 2023
November 25, 2024