प्राधिकरणद्वारा साइबर सुरक्षा विनियमावलीमा संशोधन गर्न सुझाव माग

  Sampatti News

August 2, 2023

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावलीमा संशोधन गर्ने प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको छ । साइबर सुरक्षाका मापदण्ड तथा उत्कृष्ट अभ्यासको कार्यान्वयन गर्दै दूरसञ्चार सेवाको आईसीटी पूर्वाधार र सूचना प्रणालीलाई साइबर आक्रमण र जोखिमबाट बचाउन यस्तो नियम कार्यान्वयनमा रहेको प्राधिकरणले जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधिका सेवा प्रयोग गर्ने सेवाग्राहीको विश्वसनीयता कायम राख्न समेत प्राधिकरणले यस्तो नियम बनाएको उल्लेख गरेको छ । अहिले यो विनियमावली संशोधनको प्रक्रियामा रहेको भन्दै प्राधिकरणले ३० दिन भित्र सुझाव दिन भनेको हो ।

दूरसञ्चार सेवा प्रदायकका कुनै समस्या भएमा सो र विनियमावलीमा संशोधन गर्नुपर्ने विषय भए सो समेत समेटेर सुझाव दिन प्राधिकरणले सरोकारवालासँग माग गरेको हो ।

प्रकाशित मिति:August 2, 2023