उत्तराखण्ड पहिरोको घटनाप्रति सभामुख घिमिरे दुःखी, बेपत्ता नेपालीको खोजीका लागि आग्रह

  Sampatti News

August 6, 2023

काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि उनले भारतीय प्रशासनसँग आग्रह पनि गरे ।

गत बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए, जसमा तीन नेपालीको पहिचान खुलेको थियो । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । अन्यको अवस्था अज्ञात नै छ । बेपत्ताको खोजी पनि जारी छ ।

प्रकाशित मिति:August 6, 2023