वातावरण निरीक्षक बनेकाहरुलाई बढुवा हुन अबदेखी सहज

  Sampatti News

August 9, 2023

सरकारले वन सेवामा यसअघि कायम जनरल फरेस्ट्री, स्वायल एन्ड वाटर कन्जभेसन, नेसनल पार्कस् एन्ड वाइल्ड लाइफ, बोटनी, फरेस्ट रिसर्च, हात्तीसार समूहमा वातावरण थप गरेको हो । सरकारले नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियम ०८० अन्तर्गत हाल नेपाल विविध सेवा, राजपत्रांकित तृतीय श्रेणीको वातावरण निरीक्षक पदमा नियुक्ति पाई बहाल कर्मचारी वातावरण समूहको सम्बन्धित पदमा समुहीकृत भएको भनेको छ ।

वातावरण विज्ञान, वातावरण व्यवस्थापन र वातावरण इन्जिनियरिङ अध्ययन गरेकाले वातावरण समूहअन्तर्गत नै रहेर निजामती सेवामा सहसचिवसम्म बन्ने बाटो खुलेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार वन सेवाअन्तर्गत वातावरण समूह सिर्जना गरेर वातावरण निरीक्षक अलावा सहायक वातावरण निरीक्षक (नायब सुब्बासरह), वरिष्ठ वातावरण निरीक्षक (उपसचिवसरह) र उपमहानिर्देशकरमहाशाखा प्रमुख र केन्द्र प्रमुख (सहसचिवसरह)सम्मको पद सिर्जना गरेको हो ।

‘पहिले वातावरण निरीक्षकको छुट्टै पहिचान थिएन, विविधअन्तर्गत हुनुहुन्थ्यो, अब वन सेवाअन्तर्गत वातावरण समूह नै सिर्जना गरेपछि उहाँहरूलाई वातावरण समूहबाटै उपल्लो पदमा पुग्ने बाटो खुलेको छ,’ वनसचिव डा. रेवतीरमण पौडेलले भने ।

नौ वर्षअघि वातावरण निरीक्षक बनेकाहरूलाई बढुवा हुन सहज वातावरण संरक्षण ऐन, ०५३ मा वातावरण निरीक्षकको व्यवस्था रहे पनि सरकारले नौ वर्षअघि ०७१ मा मात्र वातावरण निरीक्षकको पदपूर्ति सुरु गरेको थियो । त्यो पनि ०६१ मा सर्वोच्च अदालतले ऐन कार्यान्वयन गर्न आदेश दिएको १० वर्षपछि । तर, ०७१ मा ६ जना वातावरण निरीक्षक बनेका थिए । समूह नछुट्टिँदा त्यसभन्दा माथिल्लो पदमा बढुवा वा वातावरण क्षेत्रमै माथिल्लो पदमा पदपूर्तिको व्यवस्था थिएन । जसकारण नौ वर्षअघि वातावरण निरीक्षक बनेकाहरूको बढुवा हुन सकेको थिएन भने माथिल्लो पदमा प्रतिस्पर्धा गर्नका लागि पनि सेवा समूह परिवर्तन गर्नुपर्ने बाध्यता थियो । विविध सेवामै पद थियो, वरिष्ठ वातावरण अधिकृत पद रहे पनि नियुक्ति वा बढुवा गरिएको थिएन ।

हाल संघमा वातावरण निरीक्षकको दरबन्दी २८ रहे पनि २३–२४ जना मात्र कार्यरत छन् । जसमध्ये १६ जना वातावरण विभागमा छन् । त्यसबाहेक सातै प्रदेशमा एक–एक दरबन्दी रहे पनि लुम्बिनीबाहेकमा पदपूर्ति छैन । त्यस्तै, महानगर र उपमहानगरमा एक–एक वातावरण निरीक्षकको पद रहे पनि धेरैजसो रिक्त छ ।

प्रकाशित मिति:August 9, 2023