August 9, 2023
सरकारले नेपालको स्वास्थ्य संस्थाहरूको गुणस्तर सुधार हुनाका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्त्वपूर्ण निकायमा कार्यरत अति विशिष्ट व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरे जस्तोसमेत देखिएकाले स्वास्थ्य उपचार समिति गठन गरेको छ । यसले एउटा सकारात्मक सन्देश जनतामा गएको छ । तर यस किसिमको स्वास्थ्य सेवा भिआइपीलाईलाई मात्र दिने भन्ने नभई सबै जनताले स्वदेशमै पाउँछन् भन्ने सन्देश आवश्यक छ । एउटै (वीर)अस्पतालबाट सेवा दिन कत्तिको सम्भव होला र ? भिआइपीहरूको चाहना र व्यावहारिकतालाई पनि हेर्नुपर्ने हुनसक्छ । जे होस् विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टीकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी सबै मुख्य अस्पतालहरूबाट उपचार व्यवस्थापन गर्न सकिन्छ । विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने भएकाले हामी चिकित्सकहरू खुसी नै भएका छौँ । नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो डा. भगवान् कोइरालाले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उनीप्रति अत्यन्त विश्वास र श्रद्धा छ । उनमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ । हालसम्म उनी आफैँले र आफ्नो प्रत्यक्ष निगरानीमा १४ हजारभन्दा बढी मुटुरोगीको शल्यक्रिया सकेका छन् अर्थात् उनीहरूलाई नयाँ जीवन प्रदान गरेका छन् ।
केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए । जुन पुस्तक सर्वाधिक बिक्री भएका पुस्तकहरूको सूचीमा पनि परेको छ । पुस्तकमा जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरेका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा रहेका तमाम समस्या र सम्भावनाको जीवन्त चित्रण कोरिएको यो पुस्तक पढेपछि लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र नभई उनको व्यवस्थापकीय गुणबारे अवगत हुन्छ । कुनै पनि काम सुरु गरिसकेपछि त्यसलाई जुनै हालतमा सम्पन्न गरिछाड्ने भगवानको शैली जहाँ जुनसुकै क्षेत्रका लागि पनि उदाहरण बन्न सक्दछ ।
नेपालमा मुटुरोगीको सङ्ख्या बढ्दो देखिन्छ यसको मुख्य कारण नेपालमा मुटुरोगीको सङ्ख्या वास्तवमै वृद्धि भइरहेको छ । यसो हुनुको मुख्य कारण जीवनशैली, आहार विहार नै हो । पछिल्लो समय क्षयरोग, मलेरिया, झाडा बान्ता जस्ता सर्ने रोगको सङ्क्रमण घट्यो तर मुटु रोगजस्ता नसर्ने रोगको प्रकोप बढ्न थाल्यो । नेपालीको औसत आयु बढेसँगै नसर्ने रोगको चाप पनि बढेको देखिन्छ । खास गरी पछिल्लो समय युवा वर्गमा मुटु रोगको समस्या देखिनुको मुख्य कारण खानपिन र खराब जीवनशैली नै हो ।
मुटुरोग लाग्न नदिनका लागि जस्तैः उमेर, लिङ्ग, जेनिटिक जस्ता कुराहरू हाम्रो अधीनमा हुँदैनन् । तर धेरैजसो जोखिम न्यूनीकरण हाम्रै हातमा हुन्छन् । धूम्रपान तथा मद्यपान नगर्ने, जीवनशैलीमा परिवर्तन तथा नियमित व्यायाम एवं मोटोपन घटाएमा मुटुरोग लाग्नबाट बच्न सकिन्छ । वायु प्रदूषणले पनि मुटु रोग लगायत विभिन्न स्वास्थ्य समस्या ल्याउने गरेको छ । समयमै गर्न सकिने उपचारप्रति बेवास्ता गर्ने वा हेलचेक्र्याइँ गर्ने बानीले पनि पछि गएर गम्भीर समस्या ल्याउने गरेको छ । बालबालिकालाई घाँटीमा सामान्य समस्या हुँदा समयमै उपचार नहुँदा पछि गएर उनीहरू मुटुका रोगी बन्नुपरेको छ । मानिसहरूमा आध्यात्मिक चिन्तन, योग, ध्यान गर्ने आदत बढाउन सकेमा शरीरमा स्वतः सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले मुटुलगायत कुनै पनि जटिल समस्या आउन नदिन सहयोग पुग्छ ।
अहिले काठमाडौँमा गङ्गालाल, मनमोहन कार्डियो थोरासिक सेन्टरमा मुटु रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ । वीर अस्पतालमा असीको दशकमा सुरु भएकामा बीचमा केही वर्ष बन्द भएको र अहिले पुनः सञ्चालनमा ल्याइएको छ भने उपत्यकाबाहिर चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, वीरगञ्ज, धरान, विराटनगर र झापामा मुटु रोगको स्तरीय उपचार सेवा उपलब्ध छ ।
नेपालमा मुटु रोगको उपचार सेवालाई हेर्दा विश्वका अन्य देशको तुलनामा कमजोर मान्न सकिँदैन । धनी देशको तुलनामा प्रविधिमा केही कमी छ तर नेपाली चिकित्सकहरू त्यहाँका भन्दा कम छैनन्। नेपालको आम जनतालाई चाहिने शल्यक्रियासहितको उपचार सेवा नेपालमा उपलब्ध छ । गङ्गालाल हृदय रोग केन्द्र देशकै महत्त्वपूर्ण अस्पतालमा रूपान्तरण भएको छ । त्यस्तै मनमोहन कार्डियो थोरासिक सेन्टर पनि उत्तिकै प्रभावकारी रहेको छ ।
सम्पूर्ण उपचार नपाएको कारण धेरै बच्चाहरूले जुन पीडा भोगे, त्यसकै कारण अस्पतालको आवश्यकता महसुसले । त्यही अभाव पूरा गर्न पैसाको कमी वा प्रविधिको कमी वा पहुँचको कमीबाट कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनेको छ । कान्तिजस्तो बालबालिकाको डेडिकेटेड अस्पतालले यो सेवा विकेन्द्रीकृत नहुँदा विविध कारणले कार्यान्वयन गर्न सकेको छैन । त्यसैले सरकारको सहयोगमा सात प्रदेशमा सात स्याटलाइट सेन्टरसहित काठमाडौँमा एक विशिष्टीकृत बाल अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) नामक बाल अस्पताल निर्माण गरिँदैछ । पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन् । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल सञ्चालनमा आइसकेको छ ।
नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन–चारजनाले आफ्नोपाँचौ जन्मदिन देख्न पाउँदैनन् । आधारभूत स्वास्थ्य सेवा र बेलैमा विशिष्टीकृत उपचार नपाएका कारण ती बालबालिकाहरूले ज्यान गुमाएका छन् । मलाई नेपालमा बालबालिकाको उपचारका निम्ति विशिष्टीकृत अस्पतालको अभाव खड्किँदै आएको थियो । त्यही अभाव पूरा गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नै बाल अस्पताल स्थापना गर्ने इच्छा जागृत भएको हो । जोखिम र जटिल किसिमको स्वास्थ्य सेवा स्थापित गर्न कस्तो किसिमको हण्डर खानुपर्छ भन्ने बारेमा पुस्तकमा उल्लेख गरेको छु । आफूले जीवनमा भोगेका सङ्घर्षका अनुभवदेखि स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणा राखेको छ ।
प्रकाशित मिति:August 9, 2023
November 22, 2024