सुन काण्डमा जोकसैको संलग्नता देखिए कठघरामा उभिनुपर्छ ः वर्षमान पुन

Nepal Cover
२४ श्रावण २०८०, बुधबार
image

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सय किलो सुन तस्करी प्रकरणमा आफ्नो दलका कुनै पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने बताएका छन् ।

छानबिनबाट जो कोही नेता वा व्यक्ति संलग्न भएको देखियो भने न्याय सम्पादनलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए ऊ जान्छ’, पुनले उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्दै पेरिसँडाडामा बुधबार भने, ‘तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन । आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन ।’

पुनले सुनमा तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प बाँकी रहेको औँल्याए ।