कैदी मृत्यु प्रकरणमा सुरक्षार्थ खटिएका प्रहरी अधिकारीमाथि छानबिन सुरु

Nepal Cover
२६ श्रावण २०८०, शुक्रबार
image

काठमाडौँ । मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन सुरु भएको हो ।जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ ।

कोशी प्रदेश प्रहरीका अनुसार प्रहरीबाट सुरक्षार्थ खटिएका १० जना र कैदीबन्दीमध्ये ९ जनालाई छानबिनको दायरामा ल्याइएको छ । बुधबार बिहान १ बजे कैदी विनोद तोलांगी र आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेका थिए ।

त्यसक्रममा नियन्त्रणमा लिएपछि कारागारभित्र झडप र कुटपिट हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकरणको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ । जिल्ला प्रशासन कार्यालय, सङ्खुवासभाले पनि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति बनाएको छ ।

कारागार व्यवस्थापन विभागले पनि निर्देशक कमल पाण्डेको नेतृत्वमा समिति बनाएर जाँच गरिरहेको छ ।