बङ्गलादेशीलाई काठमाडौँमा बन्धक बनाइ फिरौती असुल्ने ७ जना पक्राउ

  Sampatti News

August 14, 2023

काठमाडौँ। बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौँमा बन्धक बनाउने गिरोहका ७ जना पक्राउ परेका छन् ।

बङ्गलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्गलादेशी र नेपाली नागरिकहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । कार्यालयले आरोपितहरूलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका ६ जना बङ्गलादेशी नागरिकलाई उद्धार गरिएको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए ।

गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बङ्गलादेशबाट नेपाल ल्याई काठमाडौँका विभिन्न स्थानहरूमा रहेका होटेल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो । पक्राउ पर्नेहरूमा बङ्गलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बङ्गलादेश बरिसालका ३७ वर्षीय एमडि मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बङ्गलादेशी नागरिक ३८ वर्षीय सलिम मियाँ, सिन्धुपाल्चोक बलेफी६ की २७ वर्षीया तारा नेपाली, बङ्गलादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम, काठमाडौँ हाडिगाउँ बस्ने बङ्गलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली–४ कि ३३ वर्षीया रोशनी राई रहेका छन् ।

आफूहरूसँग भएको रकम असुल गरेर परिवारसँग फिरौती मागेपछि एक बङ्गाली नागरिकले उजुरी दर्ता गराएको र गिरोह पक्राउ गर्न सफल भएको केसीले बताए । विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरूमा बङ्गलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको अनुसन्धानमा खुलेको छ ।

पत्रकार सम्मेलनमा बङ्गलादेशी पीडित नागरिकहरूले आफूहरूलाई एजेण्टले पोल्याण्ड लगायतका देश पठाउनका लागि ५ लाख रुपैयाँ लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन् । नेपाल आएपछि आफूहरूसँग खर्चका लागि भएको पैसा, मोबाइल पनि लिएको बताए ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको केसीले जानकारी दिए ।

पीडितहरूमध्ये कालिमाटीडोलमा रहेको मेमोरियल गेष्ट हाउसबाट एमडि नाजमुल, एमडि इयासिन, इब्राहिम हुसैन र एमडि अल अमिनलाई उद्धार गरिएको छ । त्यस्तै हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:August 14, 2023