August 14, 2023
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीमा राजनीतिक नेतृत्वको संलग्नता भएको दाबी गरेका छन् । जारी संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नाम जोडिएका माओवादीका नेताहरूमाथि छानबिन नगरेकोप्रति आशङ्का व्यक्ति गरे ।
बैठकमा उनले भने, ‘यो तस्करी सानो मान्छेले गर्नसक्ने कुरा होइन । सीआईबीले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनुपर्छ । महराको बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ । सीआईबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानबिन गर्ने आँटसमेत गरेको छैन ।’
प्रधानमन्त्रीले पार्टीका नेताहरूलाई छानबिनमा सघाउन लगाउनुको सट्टा पार्टी बैठकमा स्पष्ट पार्नु भनेकोप्रति गगनले असन्तुष्टि जनाए । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा महरालाई सुन प्रकरणको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्न भनेका थिए ।
उनले भने, ‘पार्टीको बैठकले भनेअनुसार कसैले प्रष्ट पारेर हुँदैन । नाम जोडिएपछि छानबिन गरेर टुङ्गो लगाउनुपर्छ । तुरुन्त छानबिन होस् । क्लियर गर्नुपर्छ । संलग्नता प्रधानमन्त्रीको पार्टीको होस् वा हाम्रो जोसुकै जुनसुकै भएपनि कारबाहीको दायरामा ल्याउनैपर्छ ।’
उनले प्रधानमन्त्री आफ्नो पार्टीको नभएपछि यो सरकार काँग्रेस नेतृत्वको भएको दाबी गरे ।
उनले भने, ‘यो सरकार हाम्रो नेतृत्वको हो । हाम्रो प्रधानमन्त्री नभएपनि सरकारले गरेको राम्रो–नराम्रो कामको जस र अपजस हामीले पनि लिनुपर्छ ।’
प्रकाशित मिति:August 14, 2023