August 14, 2023
काठमाडौँ । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लो समय डोटीमा लोप हुँदै गएको छ ।
कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्नबाजीका रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो ।
एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साबिकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिकालगायतका ठाउँका किसानको मुख्य खाद्यान्नबाली कोदो थियो । अहिले कोदो खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसान बताउँछन् ।
स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको अहिले डोटीका सीमित गाउँमा मात्र खेती गरिन्छ । रोटीका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै सहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । कोदो खेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको किसानको भनाइ छ ।
बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाझिँदै गएका हुन् । कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि बढ्दो सहरीकरणको प्रभावले गर्दा कोदो खेती लोप हुने अवस्थामा पुगेको बडीकेदार(५ थानकोटका उपेन्द्र धामीले बताए ।
कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि मागअनुसार जिल्लामै आपूर्ति गर्न नसकिने अवस्था रहेको बडीकेदार गाउँपालिकाको कृषि शाखाका नासु सुरेन्द्र शाहीले बताए । अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि पछिल्लो समय किसान तरकारी खेती गर्न थालेपछि कोदो खेती लोप हुँदै गएको शाहीले बताए ।
अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए । डोटीमा २० देखि ३० प्रतिशत कोदोखेतीयोग्य जमिन भए पनि पछिल्लो समय पाँच प्रतिशतले मात्र कोदो खेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति:August 14, 2023
November 22, 2024