१२ बजेपछि उडान नगर्ने निर्णय खारेज गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

  Sampatti News

August 15, 2023

काठमाडौँ । दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय खारेज गर्न सरोकारवालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

प्राधिकरणले मौसमको कारण देखाउँदै दिउँसो १२ बजेपछि उडान रोकिरहेको छ । यसले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको गुनासो व्यवसायीको छ ।

जहाज कुर्दा हुम्लामा हाल सम्म २ जना बिरामीको ज्यानसमेत गइसकेको भन्दै उनीहरूले ‘अपरेशन आवर’ निर्णयलाई खारेज गरी स्थिति सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।

कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागि कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

समाजले निर्णय कार्यान्वयन भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको थियो । कर्णालीका जनप्रतिनिधिसँग समेत छलफल गरी निर्णय फिर्ता लिन सरकारसँग पहल गर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति:August 15, 2023