इंग्लिस प्रिमियर लिग आज राति हुँदै, टोटेनहम र लेस्टर भिड्दै

Nepal Cover
४ श्रावण २०७७, आईतवार
image

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको २ खेलमा प्रतिस्पर्धा हुदैछ।

शीर्ष ४ को दौडमा रहेको लेस्टर सिटीले टोटेनहमको मैदान टोटेनहम हस्टपर स्टेडियमको भ्रमण गर्दैछ।

खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुँदैछ। लेस्टर सिटी घरेलु टोलीलाई पराजित गरि चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने दाँउमा हुनेछ। टोटेनहमलाई पराजित गर्न सके लेस्टरले एक खेल कम खेलेको चेल्सीलाई २ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लने अवसर छ। त्यसैले लेस्टर टोटेनहमविरुद्ध ३ अंकको खोजीमा मैदानमा उत्रनेछ। जेमी भार्डी हाभ्रे वार्नेस र एयोजी पेरेज टोलीको मुख्य हतियार हुनेछन्।

यता, टोटेनहम पनि घरेलु मैदानमा लेस्टरलाई हराउदै छैटौं स्थानमा उक्लने लक्ष्यमा हुनेछ। ५५ अंक रहेको टोटेनहमले लेस्टरलाई हराएमा एक खेल कम खेलेको वल्भ्सलाई पछि पार्दै शीर्ष ६ मा उक्लनेछ। वल्भ्स ५६ अंक जोडेर छैटौ स्थानमा छ। टोटेनहमका लागि ह्यारी केन, ह्युङ मिन सन, लुकास मोउरा, जियोभानी लो सेल्सो, मोउसा सिसोकोको साथ रहनेछ।

अर्को खेलमा बर्नमाउथ र साउथह्याम्टनबीच साँझ ६ः४५ बजे प्रतिस्पर्धा हुदैछ। बर्नमाउथ रेलिगेसन क्षेत्रबाट उम्कने दाँउमा रहँदा साउथह्याम्टन अंक तलिका सुधार गर्ने लक्ष्यसहित मैदान उत्रनेछ। साउथह्याम्पटन ४६ अंक जोडेर १२औं स्थानमा रहँदा बर्नमाउथ ३१ अंक जोडेर १८औं स्थानमा छ।