August 16, 2023
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दुको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । विसं २०६४ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रूपमा स्थापना गरिएको उक्त अस्पताललाई विसं २०७५ फागुनमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो ।
जिल्ला अस्पतालमा विस्तार गरिएको पाँच वर्ष पुग्दासमेत व्यवस्थित भवन निर्माणले पूर्णता पाउन सकेको छैन । वि.सं २०६४ मा निर्माण गरिएको ट्रस्टको भवनबाट जिल्ला अस्पतालको रूपमा सेवा प्रदान गरिँदै आइएको छ । तत्कालीन समयमा सेवाग्राहीको खासै चाप नहुने गरेकामा अहिले सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।
जिल्लामा बीमा कार्यक्रम लागू भएयता अस्पतालमा थप बिरामीका चाप बढेको उनको भनाइ थियो। बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको सूचना अधिकारी सुवेदीले बताए । वि.सं २०६४ को अवस्थालाई हेरी निर्माण गरिएको भवन अहिले १६ वर्षपछि पनि सोही संरचनामा सेवा दिनु आफैँमा मुस्किल भएको उनको भनाइ थियो । “पहिले सेवाग्राहीको चाप कम थियो, हाल सेवाग्राहीको सङ्ख्या बढ्दो छ, अस्पतालमा नयाँ(नयाँ रोगको उपचारका लागि सेवा थपिँदै गएका छन् तर भवनको र संरचना उस्तै छ, यसबाट सहजरूपमा सेवा प्रदान गर्न निकै गाह्रो परिरहेको छ”, सूचना अधिकारी सुवेदीले भने ।
जिल्ला अस्पतालमा दैनिक सरदर तीन सय बिरामी उपचारका लागि आउने गरेका छन् । साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै देखिने गरेको छ ।
जिल्ला अस्पताल भए लगत्तै चार तलको नयाँ भवन निर्माणको काम चार वर्षअघि नै थालिएको भए पनि भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माणको काम गण्डकी प्रदेश सरकार र ‘हेचर’ संस्थाको सयुक्त लगानीमा अगाडि बढाइएको थियो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु दुई करोड अस्पताल भवनका लागि विनियोजन गरेको छ । र्याम्प र ट्रस्ट निर्माणका लागि उक्त रकमबाट काम गर्ने योजना रहेको छ । अन्य काम भने हेचरले नै गर्ने बताइएको छ । उक्त संस्थाले कामलाई गति नदिँदा नयाँ भवन निर्माणमा विलम्ब हुँदै आएको छ ।
दरबन्दी अनुसार छैनन् जनशक्ति
नवलपुरमा रहेको उक्त अस्पतालमा दरबन्दीअनुसारका जनशक्ति नहुँदा समस्या हुँदै आएको छ । पन्ध्र शय्याको उक्त अस्पताल पचास शय्याको अस्पतालका रूपमा सञ्चालनका लागि तयारी गरिएको छ । एकतीस जनाको दरबन्दी भए पनि हाल १३ जनशक्ति मात्रै रहेका छन् । अस्पतालमा दरबन्दीअनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समेत समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी सुवेदीले बताए । दरबन्दीअनुसार जनशक्ति आउने हो भने सेवालाई थप प्रभावकारी रूपमा प्रदान गर्न सकिने उनको भनाइ थियो । दरबन्दी कम हुँदा बिरामीलाई सेवा प्रदानमा समेत समस्या हुने गरेको छ ।
प्रकाशित मिति:August 16, 2023
November 22, 2024