महिला विश्वकपको फाइनलमा इङ्ल्यान्ड र स्पेन

  Sampatti News

August 17, 2023

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तर्गत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै इङ्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्ने छ । यसअघि स्पेनले स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुवै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् ।

बुधबार सिड्नीस्थित एलिएन्ज रङ्गशालामा इङ्ल्यान्डलाई जित दिलाउन इला टुन, लोरेन हेम्प र एलिसा रुसोले समान एक–एक गोल गरे । अस्ट्रेलियाका लागि साम केरले एक गोल फर्काए पनि टिमको हार टार्न सकिनन् । खेलको ३६औँ मिनेटमा टुनको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । तर, ६३औँ मिनेटमा केरले अस्ट्रेलियालाई बराबरीमा ल्याइन् । ७१औँ मिनेटमा हेम्पले गोल गर्दा इङ्ल्यान्ड २–१ ले अघि बढ्यो भने खेल सकिन चार मिनेट बाँकी छँदा रुसोले गोल थप्दा इङ्ल्यान्डले ३–१ले फाइनलसम्मको यात्रा निश्चित गरेको हो ।

क्वार्टरफाइनलमा इङ्ल्यान्डले कोलम्बियालाई २–१ र अस्ट्रेलियाले सडन डेथमा फ्रान्सलाई ७–६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

जारी विश्वकपमा १९ अगस्टमा तेस्रो स्थानका लागि स्वीडेन र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्‍याइएको छ ।

प्रकाशित मिति:August 17, 2023