मासिक १ खर्बभन्दा बढी भित्रियो रेमिट्यान्स

  Sampatti News

August 18, 2023

काठमाडौं । आर्थिक वर्ष २०७९ र ८० मा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म १२ खर्ब २० अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको हो । यस आवमा अघिल्लो आवको तुलनामा २१।२ प्रतिशतले विप्रेषण वृद्धि भएको हो । गत आवमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ९७ हजार ७०४ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ७७ हजार २७२ रहेको थियो । नयाँ श्रम स्वीकृति लिनेको संख्या अघिल्लो आवको तुलनामा ४०.३ प्रतिशत धेरै हो । पुनः श्रम स्वीकृति लिनेको संख्या भने १.८ प्रतिशत कम हो ।

यस आवमा वैदेशिक रोजगारीमा जाने व्यक्तिको संख्याले कीर्तिमान कायम गरेको थियो । सोही अनुसार नेपालीहरुले स्वदेशमा वैधानिक च्यानलबाट रकम पठाउने क्रम समेत वृद्धि भएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२।१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो वृद्धिदर २.२ प्रतिशत थियो ।

प्रकाशित मिति:August 18, 2023