डा. मन्सुरको ‘लो कार्ब डाइट’ उपचार विधि अवैज्ञानिक रहेको मेडिकल काउन्सिलको ठहर

  Sampatti News

August 18, 2023

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर गरेको छ । अब उपरान्त वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न भन्दै काउन्सिलले उनलाई सचेत गराएको छ ।

डा. मन्सुरले काठमाडौंको मैतिदेवीमा सञ्चालन गर्दै आएको एफडीएच नामक क्लिनिकमा गैरव्यवसायिक ढंगले उपचार गर्ने गरेको भन्दै काउन्सिलमा उजुरी परेको थियो । उक्त उजुरीबारे छानबिनपछि नेपाल मेडिकल काउन्सिलको गत साउन २६ गते बसेको पूर्ण बैठकले उपचारका लागि आएका सबै बिरामीलाई एकै प्रकारको डाइट प्लान दिनु सरासर अवैज्ञानिक रहेको ठहर गरेको हो ।

‘उपचारका लागि आएका सबै बिरामीलहरुलाई एउटै कक्षामा राखी स्थापित वैज्ञानिक मूल्य मान्यता विपरीत एकै प्रकारको परामर्शक गरैको, सबै प्रकृतिका रोगहरुको लागि एउटै भोजन योजना दिएको, अन्य चिकित्सकले सिफारिस गरेका औषधिहरु बिना तथ्य थपघट गरेको, काउन्सिलले जारी गरेको प्रेस्क्रिप्सन गाइडलाइन पालना नगरेको, निज चिकित्सकले गरेको उपचारहरु कुनै स्थापित वैज्ञानिक सिद्धान्त अनुरुप नरहेको, सबै बिरामीलाई शारीरिक तौल घटाउन स्थापित विधि किटो डाइट सिफारिस गरेको, दीर्घरोगीहरुको नियमित औषधि रोकिनाले क्षति हुन सक्ने देखिएको र निजको उपचार विधिले बिरामीलाई अपूरणीय क्षति पुग्न सक्ने सम्भावना रहेको भनी विज्ञहरुको रायका आधारमा स्थापित वैज्ञानिक मूल्य मान्यताअनुरुप उपचार नगरेको पाइएकोले निज डा। दिलजान मन्सुरलाई अब उपरान्त स्थापित वैज्ञानिक मूल्य मान्यताअनुरुप उपचार गर्न गराउनु भनी अन्तिम पटकलाई सचेत गराउने,’ काउन्सिलको निर्णयमा उल्लेख छ ।

साथै काउन्सिलले गैरवैज्ञानिक उपचार विधि तत्काल रोक्न, बिरामीलाई सामूहिक नभई व्यक्तिगत रुपमा परामर्श र उपचार गर्ने तथा बिरामीलाई दिइएका सम्पूर्ण निर्देशनहरु अनिवार्य अभिलेखीकरण गर्न पनि निर्देशन दिएको छ ।

डा. मन्सुरको उपचार विधिले स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बिरामीहरुले गुनासो गर्दै आएका थिए । यस विषयमा अनलाइनखबरमा समाचार प्रकाशित भएपछि काठमाडौं महानगरपालिकाले डा. मन्सुरको क्लिनिकसमेत बन्द गराएको थियो ।

प्रकाशित मिति:August 18, 2023