विजयनगर गाउँपालिकाका- ४ का वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

August 18, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको  विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलकराम कंडेलसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले गाउँपालिकालाई बुझाउनुपर्ने रकम नबुझाई हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध आरोप पत्र दायर गरिएको हो ।

वडाध्यक्षले विजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्का (भाडा)बापतको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफैं हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदबीच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको रकम दाखिला नभएको र हालसम्म पनि २ लाख ७० हजार रकम विजयनगर गाउँपालिकाको खातामा जम्मा हुन बाँकी नै रहेकोले ठेक्का सम्झौतामा सहीछाप गर्ने चौधरीले दुई लाख सत्तरी हजार बिगो, ठेकेदार सेराज महम्मदबाट हालसम्म पनि उक्त शंकरपुर तालको ठेक्का सम्झौता अनुसार बुझाउन बाँकी रकम २ लाख ७० हजार बिगो बमोजिम जरिवाना गरी सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

साविक पत्थरदेइया गाउँ विकास समिति वडा नं ८ हाल बिजयनगर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कँडेलले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफै हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कँडेलले शंकरपुर तालको ठेक्काबापतको रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी छ लाख दश हजार रकम हिनामिना गरेको देखिन आएको आरोप पत्रमा जनाइएको छ ।

आयोगले वडाध्यक्ष कँडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ।दफा १७ ले निर्देश गरेवमोजिम उनलाई उल्लेखित कसुरमा बिगो छ लाख दश हजार कायम गरी जरिवाना माग गरेको छ ।

प्रकाशित मिति:August 18, 2023