प्राध्यापक उपकुलपति गिरीले जतिबेला मन लाग्यो त्यतिबेला मनपरी तवरले प्रतिष्ठानको खाताको पैसा चलाउने गरेको खुलासा

  Sampatti News

August 20, 2023

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घेराउ हालेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ‘किर्ते’ प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पीए र ड्राइभरको नाममा ५६ लाख पेश्की लिएको खुलासा भएको छ । विशेष अदालतको चक्कर काटिरहेका ‘किर्ते’ प्राध्यापक गिरीले पीए र ड्राइभर लगायतको नाममा ५६ लाख ४० हजार पेश्की लिएको स्वास्थ्य लाइभले फेला पारेको हो ।

‘किर्ते’ प्राध्यापक गिरीलाई करोडौं कमिसनले पनि नपुगेर प्रतिष्ठानको नियमविपरीत गिरीले आफ्नो पीएको नाममा लाखौँ पेश्की लिएको समेत खुलासा भएको हो । जतिबेला मन लाग्यो त्यतिबेला मनपरी तवरले प्रतिष्ठानको खाताको पैसा चलाउने गरेका गिरीले आफ्ना पीए मनोज घिमिरेको नाममा एकै दिन दश लाखसम्म पेश्की लिने गरेको र हालसम्म पनि निजको नाममा ५६ लाख ४० हजार पेश्की रहेको देखिएको छ । गिरी अख्तियारको फन्दामा परेपछि जागिर छोडेर घर बसेका मनोज घिमिरेले आफूलाई गिरीले ठूलो समस्यामा पारेको बताउने गरेको वीपीका अधिकारीहरू सुनाउँछन् । उनले अहिलेसम्म उक्त पैसा तिरेका छैनन् ।

बीपी प्रतिष्ठानको उपकुलपतिमा “मोटो” आर्थिक चलखेल गर्दै तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपकुलपति पदमा नियुक्त गरेको आरोप लागेका गिरीले आफ्नो अढाई बर्षे कार्यकालमा बीपी प्रतिष्ठानलाई आगामी १० वर्षसम्म उठ्नै नसक्ने बनाएर गएको टिप्पणी हुन थालेको छ । ‘किर्ते’ प्राध्यापकको पगरीसहित विदावारी लिएका उनीमाथि अन्य गम्भीर अनियमितता संलग्न रहेको विषयमा अख्तियारले थप छानबिन गरिरहेको छ ।

बिराट मेडिकल कलेज स्थापनाको क्रममा सोही कलेजको सेयर होल्डर भएको नाताले डा। ज्ञानेन्द्रमान सिंह कार्की जस्तो सोझो र इमान्दार चिकित्सकलाई गुमराहमा पारेर डा. कार्कीको सही गराएर “प्राध्यापक”को उपाधि लिएका गिरीले हरेक पन्ध्र दिनमा उनलाई समेत विशेष अदालतको चक्कर लगाउने बनाएका छन् । स्मरण रहोस् “प्राध्यापक” उपाधी कुनै कलेज विशेषले वा व्यक्तिले दिने हैन कि, विश्वविध्यालयले मात्र दिन सक्दछ । ‘किर्ते’ प्राध्यापक गिरी डा. कार्कीलाई अनाहकमा फसाएको देखिन्छ ।

आफ्नो नियुक्तिको दोस्रो दिन देखिनै कमिसन र घुसखोरीको र्याकेट बनाएर कमाउ धन्दामा लागेका गिरीले देखादेखी करिब १० करोड कमिसन असुलेको प्रतिष्ठानका कर्मचारीहरू बताउँछन् ।

गिरीको २० वटा भेन्टिलेटर काण्ड

धरानका एक मेडिकल व्यवसायीका अनुसार अबको ५ वर्षमा पनि बनिसक्ने ठेगान नभएको करिव अढाई अरबको मातृशिशु भवनको आइ.सि.यु. को निमित्त आवश्यक भन्दै गत आर्थिक वर्ष २०७९ र ८० मै करिब १० करोडको २० वटा भेन्टिलेटर खरिद गरेर स्टोरमा थन्क्याइदिए । राख्ने स्थान समेत नभएको उक्त उपकरण हाल लावारिस अवस्थामा गोदाममा थन्किएका छन् ।

प्रतिष्ठानको सुद्धीकरण अभियानमा सक्रिय एक प्राध्यापक भन्छन्, ‘समान प्रकारका भेन्टिलेटरहरू एकै आर्थिक वर्षमा प्रतिगोटा योभन्दा करिब १६ लाख कममा उनैले खरिद गरेका छन्, विनाकाम र उपयोगिता नै उनले यसरी राज्यको सम्पत्ति दोहन गरेका छन्, देशका अनकौं अस्पताल भेन्टिलेटर नभएर समस्यामा छन्, हाम्रोमा राख्ने ठाउँ छैन, यो खरिदमा ३ करोड आर्थिक अनियमितता भएको छ ।’, यो विषयमा समेत अख्तियारले गिरीमाथि भ्रष्टाचार मुद्दा चलाउनु पर्ने ती प्राध्यापकको तर्क छ ।

किर्ते’ प्राध्यापकको विषयमा विशेष अदालतमा सोमबार पेशी

डा. गिरीले लेख्दै आएको ‘किर्ते’ प्राध्यापकविरुद्ध अख्तियारले हालेको भ्रष्टाचार मुद्दामा सोमबार (भोलि) विशेष अदालतमा पेशी छ । उनीविरुद्धको मुद्दा सोमबार नै फैसला हुन सक्ने विशेष अदालत उच्च स्रोतले स्वास्थ्य लाइभलाई जनायो ।

गिरीको ‘किर्ते’ प्राध्यापक मन्त्रालयले समेत प्रमाणित गरिसकेको अवस्थामा पनि अनेक जाल झेल र कानूनी दाउपेच गरेर मुद्दा जित्ने दाउमा उनले हरेक दश दिनमा विशेष अदालतमा पेशी लिईरहेका छन् । उनले अदालतमा व्यापक चलखेल गर्दै आएको दाबी गरिएको छ ।

‘गिरी केही दिन अगाडि बीपी प्रतिष्ठानमा उपचारार्थ आउँदा, चिन्ता नगर, मा केही दिनमा फर्किएर आउँछु’ भन्नुले प्रतिष्ठानमा चिन्ता छाएको एक प्राध्यापकले बताए । उनले सबै मिलिसकेको अभिव्यक्ति दिएको ती प्राध्यापकले सुनाए ।

प्रकाशित मिति:August 20, 2023