रैब पर्व मनाउँदै थारु समुदाय

  Sampatti News

August 20, 2023

काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् ।पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँ छन् ।

यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन र रैब पर्व वा बडका अटवारी का रुपमा मनाउने गरिन्छ । यस वर्ष बडका अट्वारी भने भदौ ३१ गते परेको छ।

आजको दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ ।यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद् भुलाइ चौधरी बताउँछन् ।

यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाउ, पोखरी वा खोलामा स्नान गरी प्रकृति र कूल देवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।

यसैगरी धार्मिक मान्यता अनुसार बालबच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली(नालीमा रोग–व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाउने चलन रहँदै आएको छ ।

प्रकाशित मिति:August 20, 2023