उत्तरी गोरखाको गुम्दामा आलु मेला सुरु

  Sampatti News

August 20, 2023

गोरखा । आलुको पकेट क्षेत्र मानिने उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ गुम्दामा आलु मेला सुरु भएको छ । एकता युवा क्लवको आयोजनामा शनिबारदेखि मेला सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरेका छन् । उत्पादित आलुको बजार व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले केही वर्षदेखि मेला आयोजना गर्दै आएको क्लबका उपाध्यक्ष मितिराज गुरुङले बताए । ‘यो समय आलु उत्पादन हुने बेला हो, फेरि भेडीगोठ गएकाहरु पनि अहिले गाउँ झरेका हुन्छन्,’ उनले भने, ‘सबै जमघट भएर रमाइलो गर्ने र उत्पादित आलु बिक्री गर्न पनि सहज हुने भनेर मेला गर्दै आएका छौ ।’

भदौ ५ गतेसम्म चल्ने मेलामा आलुसँगै आलुका विभिन्न परिकारहरु बेच्न राखिएको उनले जानकारी दिए । गुरुङका अनुसार मेला अवधिभर आलु खानेसहित विभिन्न प्रतियोगिता समेत संचालन हुने छन् ।

मेलामा पुरुष र महिला भलिबल, लोक नृत्य प्रतियोगिता, मूर्ति नाँच, सटपुट, तीर हान्ने, हाँडी फुटाईलगायतका प्रतियोगिता राखिएको छ । विजेताहरुलाई नगदसहित आलु पुरस्कार दिइने आयोजकको भनाइ छ ।

मेलामा आलुसँगै आलुका विभिन्न परिकारहरु राखिएका छन् । हस्तकला प्रदर्शनी समेत रहेको आयोजकले जनाएको छ । आलु र हस्तकला प्रदर्शनीमा राख्ने पाँच उत्कृष्ट किसानलाई नगद सहित सम्मान समेत गरिने गुरुङले जानकारी दिए ।

स्थानीय स्तरमा उत्पादन भएको आलुको प्रवर्द्धन र प्रचारप्रसारमा समेत मेलाले सहयोग पुग्ने आयोजकको अपेक्षा छ । मेलाको अवलकोनका लागी सौरपानी, बारपाक, उहिया, केरौजा लगायतका स्थानीय आउने बताइएको छ ।

प्रकाशित मिति:August 20, 2023