आँखा पाकेका व्यक्तिलाई हेर्दैमा रोग सर्दैन

  Sampatti News

August 20, 2023

अहिले देशभर आँखा पाक्ने, रातो हुने रोगको समस्या भइरहेको छ। आँखा पाक्ने अथवा रातो हुने २/४ वटा कारणले हुनसक्छ। त्यसमध्ये ब्याक्टेरियाले हुनसक्छ, भाइरस र एलर्जीले गर्दा पनि हुनसक्छ। अहिले एडिनो भाइरस र इन्टेरो भाइरसका कारण आँखा पाक्ने समस्या देखिइरहेको छ। अझै रिसर्च त हुँदै छ। सुरुमा एडिनो भाइरस मात्रै भनेर सस्पेक्ट गरेका थियौं। अब अहिले इन्टेरो भाइरस पनि देखापरेको छ।

यसको लक्षणहरु पहिला त आँखा रातो हुन्छ। सुरुमा एउटा आँखा रातो हुन्छ र केहि दिनपछि अर्को आँखा रातो हुन्छ। त्यसपछि आँखाको ढकनी (आइलिड) सुन्नीन सक्छ। आँखाबाट आँसु आउन सक्छ। कचेरा आउँन सक्छ। आँखामा बालुवा छिरेको अनुभव हुनसक्छ। आँखा चिलाउने हुनसक्छ। 

यसको उपचार पहिला जो व्यक्तिलाई आँखा पाक्ने रोग लागेको छ उसले विशेष ध्यान दिन आवश्यक छ। अरुको सम्पर्कमा नजाने।आँखाबाट आएको कचेराहरु सफा गर्नु पर्छ। यो सफा गर्न रुमाल वा टिस्यु पेपरको प्रयोग गर्नु पर्छ। टिस्यु प्रयोग गर्दा एकपटक प्रयोग गरेर फ्याक्नु पर्छ। त्यहि टिस्यु पेपर अर्को आँखामा प्रयोग गर्नु हुँदैन।

यदी एउटै टिस्यु पेपर वा रुमाल प्रयोग गरे रोग सर्ने चान्स धेरै हुन्छ। हात बारम्बार साबुन पानीले धुनु पर्छ। हामीमा धेरै भ्रम छ, आँखामा अरु पदार्थ पिसाब, दुधहरु हालेर ठिक हुन्छ भन्ने तर यो भ्रमबाट बाहिर निस्किनु पर्छ। 

यस बाहेक अर्को एउटा भ्रम के छ भने आँखा हेर्ने बित्तिकै सर्छ भन्ने। यो भाइरस आँखा पाकेका व्यक्तिलाई हेर्ने बित्तिकै सर्दैन। यो आँखा छोएर अरुसँगको सम्पर्कमा आयो भने सर्छ। 

आँखा रातो भयो भने घरमै बसिराख्नु हुँदैन। किनकी आँखा पाक्ने धेरै नै कारण हुन्छ। त्यसैले नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गएर र स्वास्थ्यकर्मी कहाँ गएर उपचार गरे राम्रो हुन्छ। 

प्रकाशित मिति:August 20, 2023