भक्तपुरको थिमीस्थित सुधारगृहमा तनाव, कैदीबन्दी ढोका फोडेर भागे

  Sampatti News

August 21, 2023

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा तनाव भएको छ।

सोमबार सुधार गृहमा राखिएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर भाग्न थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार आइतबारको घटनापछि आफन्तले नारा जुलुस गरेका थिए।

त्यही क्रममा कैदीबन्दीले पछाडिको ढोका फोडेर सबै पुरुष कैदी भागेका छन्। घटनाका क्रममा तीनजना कैदी र केही प्रहरी घाइते भएका छन्।

घाइतेमध्ये एकजना गम्भीर घाइते भएका छन्। उनीसहित अन्यको नागरिक अस्पतालमा उपचार भइरहेको छ। तर प्रहरीले भने गोली चलाइएकोबारेमा केही पनि पुष्टि गरेको छैन।

सुधार गृहमा सजाय काटिरहेका रामेछापको मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो।

सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

त्यही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।

बन्दीहरु सुधार गृहको कम्पाउण्डको मूलढोका फोडर बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको हो।

बन्दीहरुले सुधार गृहबाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न थालेका थिए।

उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए। अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन्।

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन्।

सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यहीँ रहेका छन्। यसैगरी प्रहरीले फारार बन्दीहरुमध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको छ।

प्रकाशित मिति:August 21, 2023