मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने

Nepal Cover
६ श्रावण २०७७, मंगलवार
image

काठमाडौँ । मालदिभ्सले महामारीबाट प्रभावित पर्यटन उद्योगमा लगानी वृद्धि गर्न पर्यटनसम्बन्धी गतिविधिका लागि उद्योगहरूले लिएको जमिनको कर कमी गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले सम्प्रेषित समाचारमा उल्लेख छ।

पर्यटनमन्त्रीसमेत रहेका मालदिभ्सका आर्थिक विकास मन्त्री फायज स्माइलीलाई उद्धृत गरी लेखिएका समाचारहरूमा पर्यटन व्यवसायका लागि भाडामा लिइएका सरकारी जग्गाको भाडामा अत्यधिक समायोजन गरिने बताउनुभएको उल्लेख गरिएको छ।

यसले कोभिड–१९ को महामारीका कारण प्रभावित पर्यटन व्यवसायका लागि विभिन्न टापूमा भएका लगानीलाई राहत पुग्ने र उनीहरूको आर्थिक सुधारमा टेवा पुग्ने स्माइलीले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पर्यटनका लागि दिइएका जग्गाको भाडादर प्रति वर्गमिटर २ अमेरिकी डलर कायम हुनेगरी सरकारले कार्यक्रम सार्वजनिक गर्न लागेको छ।

मालदिभ्समा पर्यटन व्यवसाय सञ्चालनका लागि भाडामा दिइएका जग्गाबाट सरकारले ठूलो मात्रामा राजश्व सङ्कलन गर्ने गरेको छ। सन् २०१९ मा जग्गा भाडाबाट १० करोड ३६ लाख अमेरिकी डलर राजश्व सङ्कलन गरेको थियो।

मालदिभ्समा कोभिड–१९ महामारीको कारण पर्यटन क्षेत्रमा व्यापक प्रभाब परेको छ। मालदिभ्सको इतिहासमा पछिल्ला केही दशक यता विदेशी पर्यटकको आगमन सङ्ख्या शुन्य रहेको छ। मालदिभ्समा गत मार्च २० देखि जुलाई १५सम्म विदेशी मुलुकहरूसँगको सीमानाकाहरू बन्द गरिएका छन्।