मन्त्रिपरिषद् आकस्मिक बैठक बस्दै ः३५ सह सचिवको सूची अन्योल, परिचय पत्रबारे निर्णय हुन सक्ने

  Sampatti News

August 23, 2023

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक केही बेरमा बस्दै छ । बैठक अहिले ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै राष्ट्रिय परिचय पत्र प्रणाली सञ्चालनका लागि वार्षिक मर्मत सम्भार सम्झौताबारे निर्णय हुन सक्ने बताइएको छ ।

फ्रान्सेली ठेकेदार कम्पनी आईडीएमआईएलाई तिर्नु पर्ने एनुअल मेन्टिनेन्स कन्ट्र्याक्टवापत सरकारले तिर्नु पर्ने शुल्क नदिएपछि कम्पनीले सेवा नै बन्द गर्ने चेतावनी दिएको थियो । राष्ट्रिय परिचयपत्र वितरण प्रभावित हुन सक्ने सम्भावना बढेर गएकोबारे साउन २८ गते प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचार ःराष्ट्रिय परिचय पत्र वितरण बन्द हुन सक्ने, फाइल घुमाउनै ठिक्क छ गृह मन्त्रालय

गृह मन्त्रालयको तिर्न बाँकी एक र थप एक वर्ष गरी दुई वर्षको तिर्नेबारे निर्णय मन्त्रिपरिषदमा पठाइएको सिंहदरवार स्रोतले बताएको छ ।

अगस्ट १८ मा एक वर्षको बाँकी नै छ, थप एक वर्षको मात्र थप्दा पुनः समस्या दोहोरिन सक्नेसमेत बताइएको छ ।

यसै गरी सरुवाका लागि तयार पारिएको ठुलो सङ्ख्यामा सहसचिवहरूको सूचीबारे यसै भन्न सकिने अवस्था देखिँदैन । तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले शुरु गरेको सूची नयाँ मन्त्रीसम्म आई पुग्दा पनि सहजै पार पाउन सकेको छैन । यद्यपि आजको बैठकले निर्णय गर्न सक्ने सम्भावना भने रहेको स्रोतको भनाई छ ।

करिब दर्जन बढी पटक थप्ने घटाउने क्रमसँगै यो समाचार तयार पारुन्जेलसम्म ३५ जनाको सूची बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । प्राप्त जानकारी अनुसार सङ्घका वरिष्ठ दर्जन बढी सहसचिवहरूलाई प्रदेश पठाइँदै छ भने लामो समयदेखि प्रदेशमा बसेका सहसचिवहरूलाई सङ्घमा ल्याइँदै छ ।

कर्मचारी सरुवामा निकै ठुलो सकस देखिँदै आएको छ । चक्रीय प्रणाली भन्दा ‘चाकरी प्रथा’ बढ्ता प्राथमिकता दिएकै कारण जसले शक्तिकेन्द्र रिझाउन सक्यो त्यसैले बाजी मार्ने परम्पराले निजामती तन्त्र थप अस्थिर र विकृत बन्दै गएको छ ।

प्रकाशित मिति:August 23, 2023