त्रिविमा शिक्षक र कर्मचारी खुला प्रतिस्पर्धाबाट छनोट गर्न अनेरास्ववियुको माग

  Sampatti News

August 24, 2023

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा रिक्त उपप्राध्यापक तथा कर्मचारीहरुको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न माग गरेको छ ।

अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले बिहीबार त्रिवि सेवा आयोगका अध्यक्ष घनश्याम भट्टराईलाई एक ज्ञापन पत्र बुझाउँदै उपप्राध्यापक तथा कर्मचारी पदपूर्तिका लागि तत्काल विज्ञापन गर्न माग गरेको हो ।

अनेरास्ववियुले करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्त्रिक प्रतिस्पर्धाबाट मात्रै स्थायी गर्ने प्रक्रिया अगाडि नबढाउन र बढाइएको भए पनि तत्काल स्थगन गर्न पनि माग गरेको छ । दक्ष तथा सक्षम शिक्षक र कर्मचारी छनोट गर्न खुला प्रतिस्पर्धा नै गराउनुपर्ने अनेरास्ववियुको माग छ ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटी संयोजक समीरराज विष्टसहितको टोलीले बुझाएको मागपत्रमा त्रिवि सेवा आयोगको विज्ञापन नं. १८ को अदालतबाट फैसला भई सफाइ पाइसकेका पदहरुको नतिजा १५ दिनभित्र प्रकाशित गर्न पनि माग गरिएको छ ।

त्यस्तै परीक्षा सम्पन्न भई अन्तर्वार्ता दिनबाट वञ्चित भएकाहरुको तत्काल अन्तर्वार्ता प्रक्रिया अगाडि बढाउन पनि अनेरास्ववियुले बताएको छ ।

त्रिवि सेवा आयोगले हाल प्रयोग गरिरहेको भवन छात्राबास प्रयोजनका लागि निर्माण गरिएको भन्दै अनेरास्ववियुले १५ दिनभित्र भवन खाली गरी छात्राबास प्रयोजनमा लगाउन माग गरेको छ ।

प्रकाशित मिति:August 24, 2023