August 27, 2023
काठमाडौं । कर्मचारी सञ्चय कोषले स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तारको तयारी गरेको छ । कोषले सञ्चयकर्ताका पति वा पत्नी समेतलाई स्वास्थ्योपचार सुविधामा समेट्न लागेको हो ।
कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदी सञ्चयकर्ताले पाउँदै आएको स्वास्थ्योपचार सुविधालाई कोषको ३१ भदौको वार्षिकउत्सव समारोहबाट विस्तार गर्ने बताउँछन् ।
‘त्यसका लागि कार्यविधि बन्नुपर्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको बजेट वक्तव्यले घोषणा गरेअनुसार सञ्चयकर्ताको दम्पतीलाई नै स्वास्थ्योपचार सुविधा उपलब्ध गराउन तयारी गरिरहेका छौं ।’
चालु आर्थिक वर्षको बजेटमा कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइने उल्लेख थियो ।
हाल साधारण बिरामी भएमा सञ्चयकर्ताले अस्पतालमा भएको खर्चका आधारमा १ लाख र घातक रोग लागेमा १० लाख रुपैयाँसम्म यो योजनाबाट पाउँछन् । कोषले योजना विस्तारको घोषणा परेपछि सञ्चयकर्ताको श्रीमान वा श्रीमतीले समेत यस्तो योजनाबाट लाभ उठाउन पाउनेछन् ।
‘कहिलेदेखि कुन–कुन शर्तमा कसरी स्वास्थ्योपचार योजनामा सञ्चयकर्ताको पति वा पत्नीले पनि सुविधा पाउँछन् भन्ने तय हुन बाँकी छ,’ प्रवक्ता सुवेदीले भने ।
२०७६ अघि साविकमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत सञ्चालन गरिएको ‘सञ्चयकर्ता औषधोपचार तथा घातक रोग योजना’लाई सञ्चयकर्ता स्वास्थोपचार योजना’मा रुपान्तरण गरेर कोषले सञ्चालन गरिरहेको छ ।
अहिले अस्पताल भर्ना भएर स्वास्थोपचार खर्च गर्दा कोषबाटै शोधभर्ना गर्न सकिने व्यवस्था छ । कोषले विगतमा सञ्चालन गरेको सञ्चयकर्ता औषधोपचार सहयोग कार्यक्रम २०७० र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना २०७५ को निरन्तरताका रुपमा यो योजना सञ्चालन गरिरहेको छ ।
सरकारले तोकिदिए बमोजिम घात रोगमा हृदयघात, मृगौला फेल, क्यान्सर, अल्जाइमर, पार्किन्सन, गम्भीर हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, लिभर ड्यामेज, प्यारालाइसिस, ब्रेन ह्यामोरेज, लङ्ग्स ट्रान्सप्लान्ट सहित १२ वटा रोग छन् ।
कोषमा कम्तीमा ६ महिना नियमित रुपमा सञ्चय कोष कट्टी रकम जम्मा गरी रहेका सञ्चयकर्तालाई यो योजनाले समेटेको छ । बिरामी भएर अस्पताल भर्ना भएको अवस्थामा कोषको नियमित सञ्चयकर्ता वा उमेर–हद वा पदावधिका कारण अवकास भएको ६ वर्षसम्म कोषबाट रकम भुक्तानी नलिएका सञ्चयकर्ताले यो योजनाबाट लाभ उठाउँदै आएका छन् ।
नेपाल सरकारबाट सञ्चालन अनुमति पाएका देशभित्र सञ्चालित अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र वा यस्तै प्रकारका अन्य स्वास्थ्य सेवा प्रदायक संस्थामा उपचार गरेको खर्चको दाबी गर्न पाइन्छ । नेपालमा उपचार हुन नसक्ने भएका कारण सम्बन्धित चिकित्सकको सिफारिसमा विदेशी अस्पतालमा उपचार गराइएको भए पनि त्यस्तो खर्च दाबी गर्न पाइने नियम छ । चिकित्सकको निजी क्लिनिकमा उपचार गरेको खर्च भने दाबी गर्न नपाइने नियम छ ।
हाल बिरामी सञ्चयकर्ताले अस्पताल भर्ना भएर उपचार गराउँदा एक आर्थिक वर्षमा बढीमा दुई पटक गरी अधिकतम १ लाख रुपैयाँसम्म शोधभर्ना पाउँछन् ।
एक वर्षमा अपरेशन शुल्कबापत ४० हजार र रोग परीक्षण शुल्क, औषधि तथा उपकरण खरिद खर्च तथा अस्पताल वेड शुल्क बापत वर्षमा ३०÷३० हजार रुपैयाँ पाउँछन् ।
घातक रोगको उपचारमा रोग पहिचानको क्रममा भएको खर्चमा बढीमा १ लाखसम्म, अस्पताल भर्ना भएर गरेको उपचार खर्चमा बढीमा ७ लाखसम्म र अस्पतालबाट डिस्चार्ज भएपछि फलोअपका क्रममा बढीमा २ लाखसम्म सोधभर्ना हुने गरेको छ । मृगौला र क्यान्सरका बिरामीले भने फलोअप (केमोथेरापी र डाइलासिस) का लागि ९ लाख रुपैयाँसम्म पाउँछन् ।
सञ्चयकर्ताको मृत्यु भएमा मृत्यु हुनु भन्दाअघि भएको उपचारको खर्च हकवालाले दावी गर्न सक्ने व्यवस्था समेत छ । कोषले हालको व्यवस्थाहरुलाई कायम राखेर सञ्चयकर्ताको पति वा पन्तीलाई कस्तो सुविधा दिने भन्ने तय गर्न कार्यविधि बनाइरहेको जनाउको छ । हाल कोषमा २७ हजार ८६२ वटा कार्यालयका ५ लाख ९८ हजार सञ्चयकर्ताहरु आवद्ध छन् ।
प्रकाशित मिति:August 27, 2023