काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, नेपालले दोस्रो स्थापना दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पत्रकारलाई सुशासनको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । समाजवादी प्रेस संगठन नेपालको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुशासनको प्रत्याभूति नभएसम्म अग्रगमनको पक्षमा सोचेजस्तो काम नहुने बताए ।
अध्यक्ष नेपालले युवालाई शिक्षा मात्र नभइ सीप सिकाउन जरुरी रहेको बताए । कृषि, जल, जमिन तथा खनिजमा आधारित उद्योगको नेपालमा प्रचुर सम्भावना रहेको उनले बताए । अध्यक्ष नेपालले नेकपा एसलाई आम जनतामा आधारित पार्टी बनाउन लागिपरेको दाबी गरे ।
साथै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा दक्षिणपन्थी चलखेलका कारण अस्थिरता बढेको बताए । दक्षिणपन्थीको भण्डाफोर गर्दै जानुपर्ने बताए । पार्टी पत्रकारिताको वकालत गर्दै नेता खनालले वर्गीय समाजमा वर्गभन्दा माथि कोही नहुने बताए । दक्षिणपन्थी भड्काउबाट खण्डन आलोचना गर्दै कम्युनिष्टरुको पराधिन हुँदै गएको बताउँदै उनले यथार्थ कुरा उठाउन समाजवादी पत्रकार आगाडि आउनुपर्ने बताए । व्यवस्थाको एक मात्र विकल्प समाजवाद भएको उनको भनाइ थियो ।
समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ, नेकपा एसका केन्द्रीय सदस्य प्रेमल कुमार खनाल, राष्ट्रपतिका प्रेस सल्लाहकार किरन पोखरेल, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ पत्रकार दिनेस डीसी, नेपाल पत्रकार महासंघका सचिव गोविन्द प्रसाद चौलागाईं, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनी, जनसंगठन पत्रकार संघ नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा, प्रेस सेन्टर नेपालका उपाध्यक्ष दिपेन्द्र राउत, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जेसी, सञ्चारिका समूहका अध्यक्ष तुमखेवा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
समाजवादी प्रेस संगठन नेपालले आफनो स्थापना दिवसको अवसरमा २०८० सालदेखि वितरण हुने विभिन्न पुरस्कार स्थापना गरेको छ । जसमा साहना प्रधान महिला सश्क्तिकरण पत्रकारिता पुरस्कार रु. ५१ हजार, हृदय चन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार रु.५१ हजार, अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार रु. ५१ हजार, वीरेन्द्र साह कृयाशपल स्मृति पत्रकारिता पुरस्कार रु. ४१ हजार, डेकेन्द्र थापा साहसिक पत्रकारिता पुरस्कार रु. ४१ हजार, चन्द्र न्योपाने स्मृति पत्रकारित पुरस्कार रु. ३१ हजार, विके पाल्पाली साहित्य पत्रकारिता पुरस्कार रु. २१ हजार, उत्कृष्ट संगठन पुरस्कार रु. २१ हजार, एलवि बिश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार रु.२१ हजार र २५ लाख राशिको स्वास्थ्य उपचार कोषको स्थापना गरिएको समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलनले जानकारी दिए ।