July 23, 2020
काठमाडौँ । मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका ३ वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई टोखा नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले बताए।
नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा विपद् व्यवस्थापन समिति निर्माण समेत गर्ने निर्णय गरेको उनले बताए।
“वडा विपद् व्यवस्थापन समितिले विपद्को समयमा तत्काल उद्धार तथा सम्बन्धित निकायलाई खबर गर्नेछ”, उनले भने।
उनका अनुसार नगरपालिकाले वडामा आवश्यक पर्ने विपद् व्यवस्थापन सामग्रीका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ।
नगरपालिकाभित्र रहेका वडा विपद् व्यवस्थापन समितिले वडाभित्र विपद्का कारण भएको क्षति सङ्कलन गरी तत्काल अस्थायी तटबन्ध निर्माणका लागि वडा कार्यालयले ५० हजार रुपैयाँसम्म रकम दिन पाउने व्यवस्थासमेत गरेको छ। सो रकमभन्दा बढी क्षति भएमा वडाले नगरपालिकाको विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर विनियोजन गनुपर्र्ने निर्णय भएको बताए।
मन्त्रिरिषदको साउन ५ गते बसेको बैठकले बाढी, पहिरोबाट ज्यान गुमाउने व्यक्तिको परिवारलाई २ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ।
प्रकाशित मिति:July 23, 2020
November 23, 2024