गौर घटनाको मुद्दा नेपालमा नसुल्झे अन्तराष्ट्रिय स्तरमा जाने चेतावनी ः प्रभु साह

  Sampatti News

August 28, 2023

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरूलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरूसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे ।

कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको उनले अगाडि भने, ‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरू चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरूलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको उनले स्मरण गरे । सुन काण्डमा पनि ठूला नेताहरूको नाम आएपछि सरकार हच्किएको उनको दाबी छ ।

गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत नगरेको उनले बताए ।

पीडित सङ्घर्ष समिति र सरकारबीच गौर घटनाको विषयमा सहमति गरेपनि सरकार पछि हटेको भन्दै उनले यदि नेपालबाट न्याय नपाए पीडितहरू अन्तर्राष्ट्रिय अदालत (हेग) सम्म जाने उनको चेतावनी छ ।

प्रकाशित मिति:August 28, 2023