रेशमलाई कानुन बमोजिम माफी दिएको हो ः प्रधानमन्त्री

  Sampatti News

August 29, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई कानुन बमोजिम रिहा गरिएको बताएका छन् । ​मङ्गलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधानमा भएको व्यवस्था बमोजिम नै चौधरीलाई गणतन्त्र दिवसका दिन माफी दिइएको बताएका हुन् ।

‘सरकार मानव अधिकारको रक्षाका लागि निरन्तर प्रतिबद्ध छ। सरकारले अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वयनमा तदारुकताका साथ पहल गर्दै आइरहेको छ। संविधानको धारा २७६ मा राष्ट्रपतिले कानुन बमोजिम माफी मिनाहा गर्न सक्ने व्यवस्थाको जानकारी हामी सबैलाई छ। रेशम चौधरीले गृहमार्फत राष्ट्रपतिलाई निवेदन दिएकोमा महान्यायाधीवक्ता कार्यालयको रायका आधारमा प्रचलित कानुन बमोजिम उनलाई माफी गर्नका लागि सिफारिस गरिएको हो,’ उनले भने।

०७२ मा थरूहट प्रदर्शनकारीबाट डेढ वर्षे बालक र ८ जना सुरक्षाकर्मी मारिएका थिए। उक्त घटनामा सर्वोच्च अदालत, कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीलाई दोषी ठहर गरेको थियो। तर, सरकारले गणतन्त्र दिवसका अवसरमा चौधरीलाई आम माफी दिएको थियो ।

प्रकाशित मिति:August 29, 2023