वर्षमान पुनले भने–जनताको अपेक्षा माओवादीले नै सरकारको नेतृत्व गरिरहोस् भन्ने छ

Nepal Cover
१२ भाद्र २०८०, मंगलवार
image

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताएका छन्।

मङ्गलवार काठमाडौँमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव पुनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ‘प्रचण्ड’ वरपरका नेताहरूले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताए ।

जनताको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने बताउँदै उनले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताए। उपमहासचिव पुनले सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढङ्गबाट अघि बढाउँदै लैजाने आजको पार्टीको कार्यदिशा भएको बताए।

‘जनताको अपेक्षा के छ भने आज पनि माओवादीले नेतृत्व गरोस् । आज पनि कमरेड ‘प्रचण्ड’ र ‘प्रचण्ड’ वरिपरिका नेताहरू नेतृत्व गरोस् भनेर सोचेका छन् । त्यो अपेक्षा छ । त्यो अपेक्षामा अलिकति मात्रै ठेस लाग्ने ठुला प्रश्न उठेका छन् । हामी हाम्रो पार्टीका कमजोरीहरू हेर्दा द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नुपर्छ,’ उनले भने, ‘आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेन्डाहरू वरिपरिबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौँ नत्र खत्तम नै भयौँ, सिद्धियौँ की के हो रु भन्दा एकातिर नकारात्मक प्रवृत्ति र कुण्ठा, अराजकता देखापर्ने र अर्कोतिर अरू नै कोही छन् की भन्दा कोही पनि नदेखिने, नेता पनि नदेखिने राजनीति पनि नदेखिने हुँदा एक खालको शून्यता हुन्छ । हामीले भनेको राजनीतिक सिस्टममा देश चल्नुपर्छ । राजनीतिक विधिमा पार्टी चल्नुपर्छ । निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्छ । हामी देशको अग्रगामी रूपान्तरणका पक्षपाती हौँ ।’