मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा र सहसचिव सरुवा निर्णय हुँदै

  Sampatti News

August 29, 2023

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ४ बजे बस्न लागेको हो ।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै एक सचिव बढुवा गरिँदै छ ।

सोमबार सिफारिस तीन सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेलमध्ये एक जनालाई सचिव बनाउने निर्णय हुँदै छ ।

सम्बन्धित समाचार ः एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

गत भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गोपीकृष्ण खनाल अनिवार्य अवकाश भएसँगै रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

त्यसैगरि आजको बैठकमा पुनः सहसचिवको सरुवा निर्णयबारे सहमति लिन सक्ने पनि बुझिएको छ । केही दिनअघिको बैठकले पनि अनुसूची अनुसार सरुवा गर्ने निर्णय गरे पनि ठुँगो लगाउन नसक्दा नाम थप्ने घटाउनेमै सीमित भयो ।

१० जनाबाट शुरु भएको सुची ३५ जनासम्म पुग्दा बैठकबाट सहमति लिएकोमा सरुवा गर्न सकिएन । त्यसपछि पुनः ४८ जना पुगाइयो र पछिल्लो प्रशासनलाई प्राप्त जानकारी अनुसार ४२ जनासम्म पुगेको छ । तर यो पनि ठुँगो लगाउन फलामको चिउरा चपाउन सरह भएको बुझिएको छ ।

प्रकाशित मिति:August 29, 2023