August 29, 2023
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा नगरपालिकाले नियमविपरीत छुट दिएको भन्ने उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले राजश्व चुहावट गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार नगरप्रमुख विष्टको अध्यक्षतामा बसेको नगरसभाको बैठकले राजस्वमा छुट दिने मनसायसहित ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
सोही कार्यदलको सिफारिसका आधारमा १ करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौताअनुसार राजस्व नउठाइ चुहावट गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगले चुहावट भएको रकमको दोब्बर जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालय सिहं ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौं) विक्रम भण्डारी र नायव सुब्बा नरेन्द्र देव भट्टविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
यस्तै, आयोगले सोही कसुरमा भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट, ईश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टलाई पनि मतियारको रुपमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
ईश्वरीप्रसाद भट्टको मृत्यु भइसकेकाले प्रचलित कानुनबमोजिम उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो भराउने मागदाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दाहालले जानकारी दिएका छन् ।
प्रकाशित मिति:August 29, 2023
November 23, 2024