नेपाल आइपुगे एमसीसीका उपाध्यक्ष एलफोर्ड

Nepal Cover
१२ भाद्र २०८०, मंगलवार
image

काठमाडाैं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस अलफोर्ड नेपाल आइपुगेका छन् ।

उपाध्यक्ष अलफोर्ड मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न उपाध्यक्ष अलफोर्ड नेपाल आएका हुन् । एमसीसी परियोजनाको भोलि (बुधबार)बाट औपचारिक रूपमा कार्यान्वयन सुरु हुँदैछ । बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ । सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको छ ।

यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य–सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आएका हुन् ।

यसैबीच एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत साना राजनीतिक दलका नेताहरूले भने एमसीसीको विरोध जनाउँदै आएका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार मात्रै एमसीसी सम्बन्धी व्याख्यात्मक टिप्पणी कार्यान्वयन हुने कुरा जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन् ।